संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालले सरकारले चलाएको सुकुम्बासी बस्ती उठीबास अभियानका कारण पछिल्लो १२० दिनमा १२ जनाको मृत्यु भएको दाबी गरेको छ।
सरकारले गत वैशाख १२ गते थापाथलीबाट सुरु गरेको अभियानपछि काठमाडौंमा १० र बाहिरी जिल्लामा २ गरी १२ जनाले ज्यान गुमाएको मोर्चाको भनाइ छ।
आइतबार विज्ञप्ति जारी गर्दै मोर्चाले ती घटना दुर्घटना नभई राज्यको दमन र अकर्मण्यताका कारण भएको आरोप लगाएको छ।
‘यी दुर्घटना वा मानसिक स्वास्थ्यका कारण भएका मृत्यु होइनन्,’ मोर्चाले भनेको छ, ‘यी राज्यले गरेका हत्या, दुरुत्साहन गरेका आत्महत्या वा राज्य-दमनले निम्त्याएका घटना हुन्।’
गत हप्ता मात्रै दुई जना भूमिहीन दलित नागरिक राज्यको ज्यादतीका कारण आत्महत्या गर्न बाध्य भएको मोर्चाको जिकिर छ। पछिल्लो समय आत्महत्यासम्बन्धी विषय मिडियामा नआउँदा राज्यको अत्याचार र भूमिहीन नागरिकका संघर्षका आवाज थप दबिएको मोर्चाले उल्लेख गरेको छ।
सुकुम्बासी र अव्यवस्थित बस्तीमाथि भइरहेका दमन र नागरिकको बाध्यकारी मृत्युवरणबारे मिडिया सम्पादक तथा पत्रकारहरूसँग सोमबार अन्तरक्रिया गरिने मोर्चाले जनाएको छ।
कार्यक्रम भदौ ८ गते दिउँसो ३:३० बजे काठमाडौंस्थित मार्टिन चौतारीमा तय गरिएको छ।
प्रकाशित: ७ भाद्र २०८३ १९:२९ आइतबार



