समाज

कात्तिकमा सकिएला सिद्धबाबा सुरुङमार्ग ?

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डको माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गलाई आगामी कात्तिकसम्म परीक्षण सञ्चालनमा ल्याउने गरी काम भइरहेको दाबी आयोजनाले पक्षले गरे पनि अहिलेसम्म ७० प्रतिशतमात्र काम भएको छ। कार्यप्रगति हेर्दा पूर्वनिर्धारित समयभित्रै आयोजना पुरा हुने र सुरुङमार्ग सञ्चालनमा आउनेमा आशंका छ।

सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सकिएको आयोजनाले जनाएको छ। सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख नवराज बाँस्तोलाले ७० प्रतिशत काम सकिएको र चीनबाट आउने उपकरण समयमै आएमा कात्तिकसम्म परीक्षण सञ्चालन गरिने बताए।

अहिले सुरुङभित्र सडकको पिच सकेर रङरोगन चलिरहेको छ। टेक्निकल भवनको फिनिसिङ पनि भइरहेको छ। लाइनिङ अर्थात् भुइँ भित्ता ढलानको काम अन्तिम चरणमा छ। सुरुङमार्गलाइ सुरक्षित बनाउन अग्नि नियन्त्रक उपकरण, सिसिटिभी क्यामेरा, विद्युतीय बत्ती, भेन्टिलेसन जडानलगायतका इलेक्ट्रो मेकानिकलका काम गर्न बाँकी छ। ‘सिभिल संरचनाको काम सकिएको छ। इलेक्ट्रोमेकानिकलसम्बन्धी काम बाँकी छ’, आयोजना कार्यालयका प्रमुख बाँस्तोलाले भने।

वर्षाका कारण उत्तरी नाकाबाट चीनबाट आउनुपर्ने सामानमा ढिला भएको छ। ‘सामान बोकेका ट्रक भन्सार परिसरमा छन्, ती सामान समयमै आए कात्तिकसम्म सुरुङ परीक्षण सञ्चालन हुनेछ’, बाँस्तोलाले भने। कतिपय अवस्थामा प्राकृतिक र प्राविधिक कारणले काम रोक्नुपरेको उनले बताए।

सुरुङको भित्री काम सकिएपछि बाहिरी सडक क्षेत्रलाइ सुरक्षित बनाउन काम थालिने छ। सुरुङको बाहिरी भागलाई पहिरोबाट जोगाउन रकसेड, रकफल व्यारियर र स्लोप प्रोटेक्सनका काम गरिनेछ।

यो सुरुङमार्ग निर्माण चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ। २०८१ माघ ११ गते यो सुरुङमार्गको ब्रेक थ्रु गरिएको थियो। २०७५ सालमा स्वीस एजेन्सी फर डेभलप्मेन्ट एन्ड कोअपरेसनले यो सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी डिपिआर तयार गरेको थियो। सोहीअनुरुप निर्माणका लागि २०७८ जेठ ९ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो। २०७८ फागुन २५ मा चाइना स्टेट कन्स्ट्रक्सनसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा निर्माण ठेक्का सम्झौता भएको हो।

निर्माणको काम २०७९ फागुनबाट सुरु भएको हो। पाल्पाको तिनाउ गाँउपालिका ३ दोभान सिद्धबाबामा अवस्थित यो सुरुङमार्गको लम्बाइ १ हजार १२६ मिटर, चौडाइ साढे १० मिटर र उचाइ ७ मिटर छ।

निर्माण सकिएपछि ५ वर्ष सुरुङ सञ्चालन, मर्मत सम्भार तथा सुरक्षा व्यवस्थापनको काम निर्माण कम्पनीले नै गर्नेछ। सुरुङमार्ग बनेपछि बाह्रैमास पहिरोको जोखिममा रहेको सिद्धबाबा क्षेत्रमा यात्रा सुरक्षित हुने अपेक्षा छ।

प्रकाशित: १२ श्रावण २०८३ ०९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App