चितवन जिल्ला हुँदै बगेको त्रिशूली र नारायणी नदीमा आज बिहानदेखि शव खोज्ने काम सुरु गरिएको छ। अहिले बिहान ११ः०० बजेसम्म ६९ वटा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार १९ पुरुष, १५ महिला, चार बालक, दुई बालिकाको सग्लो र अङ्गभङ्ग भएकाे २९ जनाको शव फेला परेको छ।
शव खोजीका लागि नेपाली सेनाका ३३३ जना, नेपाल प्रहरीका २५० जना र सशस्त्र प्रहरीका १५० जनाभन्दा बढी जनशक्ति नदी किनारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए। शव खोजी तथा व्यवस्थापनका विषयमा सरोकारवालाहरूसँग जिल्ला प्रशासन कार्यालयमा छलफल गरिएको छ।
प्रजिअ अर्यालले उद्योग सङ्घ चितवनसँगै रहेको औद्योगिक विकास प्रतिष्ठानमा शव राख्न वातावरण अनुकूलित ठाउँ बनाइँदै गरेको बताए। उक्त स्थानमा शव राखेर सम्बन्धित शवको तस्बिर बाहिर ‘मोनिटर’ मा देखाइने भएको छ। भेटिएका शवको नजिकबाट तस्बिर लिएर ‘कोडिङ’ गरिँदै छ। शवको खोजीमा आएकाहरूलाई देखाएपछि पहिचान भएपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धितलाई शव हस्तान्तरण गरिने भएको छ।
हालसम्म भेटिएका शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। प्रजिअ अर्यालले अस्पतालमा खाँदेर राख्दा बढीमा ८० वटासम्म शव राख्ने क्षमता भएको बताए। बाहिरी जिल्लाबाट पठाइएका शवलाई सम्बन्धित जिल्लामा फिर्ता गरिएको भन्दै उनले अन्य जिल्लालाई आफैँ व्यवस्थापन गर्न आग्रह गरिएको बताए। तनहुँबाट बुधबार पठाइएका नौ शव फिर्ता गरिएको थियो।
नेपाल रेडक्रस सोसाइटीले शव राख्न ९५ झोला सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ। शवका लागि आवश्यक त्रिपाल र स्टेचर पनि रेडक्रसले नै उपलब्ध गराएको छ।
बैठकमा होटल व्यवसायी सङ्घ चितवनले आफन्त हराएर खोज्न आउनेहरूलाई निःशुल्क रूपमा खान र बस्न व्यवस्था गर्ने जनाएको छ। सङ्घका महासचिव कृष्णकुमार चौधरीले सबै होटलमा छुट्याएर बस्ने र खाने व्यवस्था गरिने बताए।
शव खोजी र व्यवस्थापनका क्रममा आवश्यक सामग्री सहयोग गर्न उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घले आफू र मातहतका निकायमार्फत सहयोग गर्ने जनाएका छन्।
सो क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले बीभत्स तस्बिर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रयोग नगर्न आग्रह गरे।
बैठकमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नदी तटीय क्षेत्रका वडाध्यक्षहरू, सुरक्षा निकायका प्रमुखहरू, अस्पताल व्यवस्थापक एवं सञ्चालक, उद्योग वाणिज्य सङ्घ र उद्योग सङ्घका अध्यक्ष लगायत सरोकार भएकाहरूको उपस्थिति थियो।
प्रकाशित: ११ भाद्र २०८३ १३:१२ बिहीबार