पश्चिम तराईमा अत्यधिक गर्मी बढेर जनजीवन कष्टकर बनेको छ। अत्यधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।
धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार ९ देखि १२ सम्म विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
शिक्षा शाखाले जारी गरेको सूचनामा गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिइएको उल्लेख गरिएको छ। बिदा अवधिमा विद्यार्थीलाई घरमै सुरक्षित रहन र अत्यधिक गर्मीबाट बच्न सावधानी अपनाउन अभिभावकलाई आग्रह गरिएको छ।
यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिकाले पनि नगरभित्रका सबै विद्यालयमा असार ९ देखि असार १२ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएर विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।
यसैगरी भीमदत्त नगरपालिकाले असार ८ देखि असार १९ सम्म नगरभित्रका विद्यालयमा बिदा दिएको छ। विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखेर लामो बिदाबाट कट्टा हुने गरी गर्मी र बर्खे बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले जारी गरेको सूचनामा उल्लेख छ।
कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मीका साथै तातो हावा (लु) चल्ने गरेको छ। गर्मीका कारण बिरामी हुने संख्या बढेको छ।
कैलाली र कंचनपुरमा जेठ सुरुदेखि गर्मी बढेको हो। न्यूनतम तापक्रम पनि बढेको सापेक्षिक आद्रता पनि बढेकाले एक साता यता अत्यधिक गर्मी बढेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहले बताए। अधिकतम तापक्रमभन्दा पनि न्यूनतम तापक्रम माथिल्लो विन्दुमा हुँदा अत्यधिक गर्मी हुने उनी बताउँछन्। ‘अत्यधिक तापक्रम एकपटक पुग्ने माथिल्लो विन्दु हो, २४ घन्टाकै गर्मी न्यूनतम तापक्रममा निर्भर हुने गर्छ’, उनले भने, ‘सापेक्षिक आद्रता पनि बढेको छ।’ सापेक्षिक आद्रता बढेका बेला उकुसमुकुस र गर्मी बढी हुने गर्छ। भने तातो हावा चल्ने गर्छ।
अत्यधिक गर्मी ३८ डिग्री सेल्सियसदेखि ४१ डिग्री सेल्सियससम्म हुने गरेको छ। पछिल्लो एक साता यता न्यूनतम तापक्रम २७ डिग्री सेल्सियसभन्दा बढी रहँदै आएको उनले बताए। सुदूरपश्चिममा मनसुन आउन केही दिन लाग्ने भएकाले गर्मी अझ बढ्न सक्ने अनुमान गरिएको छ।
न्यूनतम तापक्रम बढी हुनु र सापेक्षिक आद्रता पनि बढेकाले अत्यधिक गर्मी हुनुका साथै तातो हावा चलेको उनको भनाइ छ।
जनजीवन प्रभावित
अत्यधिक गर्मीले सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा जनजीवन कष्टकर बनेको छ। गर्मीले बजारलगायतका क्षेत्रमा चहलपहल कम भएको छ। अत्यधिक गर्मी त्यसैमा पटकपटक विद्युत् जाँदा सर्वसाधारणलाई राती सुत्नसमेत समस्या हुने गरेको छ। राती १२ बजेसम्म छत, बरन्डामा बस्ने गरेको स्थानीय बताउँछन्। अत्यधिक गर्मीका कारण बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी समस्यामा परेका छन्।
बिरामी बढे
अत्यधिक गर्मीले यहाँ बिरामीको संख्या बढेको छ। निजी क्लिनिक, निजी अस्पतालदेखि स्वास्थ्य संस्था र सेती प्रादेशिक अस्पतालमा गर्मीका कारण बिरामीको संख्या बढेको छ।
गर्मीले भाइरल ज्वरो, पेट दुख्ने, अपच हुने, टाउको दुख्ने, झाडापखाला, छालामा बिमिरा, दाना आएका बिरामी आउने गरेको चिकित्सकले बताए।
अत्यधिक गर्मीले शरीरमा पानीको मात्रा कम भएर मुख सुख्ने, थकान लाग्ने, कमजोर हुने लक्षण पनि देखिने वरिष्ठ फिजिसियन डा. शुभेसराज कायस्थ बताउँछन्।
गर्मीबाट बच्ने उपाय
टन्टलापुर घाममा ननिस्कने र प्रशस्त पानी खाने विज्ञले सुझाएका छन्। घाममा हिँड्नैपरे छाता ओढ्ने, टाउको छोप्ने, शरीर ढाक्ने गरी हल्का कपडा लगाउने कायस्थको सुझाव छ।
शरीरमा पानीको मात्रा कम हुन नदिन तिर्खा नलागे पनि प्रशस्त पानी पिउने, जीवनजल, कागती पानी, लस्सी, मोही खर्बुजा, तर्बुजा, काँक्रालगायत पानी प्रशस्त हुने फलफूल खाने डा. कायस्थको सुझाव छ।
प्रकाशित: ९ असार २०८३ १३:४६ मंगलबार



