मौसमविद् उज्ज्वल उपाध्यायले वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा तीव्र गतिमा बढिरहेकाले पृथ्वीको तापक्रम निरन्तर वृद्धि भइरहेको र यसले रसुवामा जस्तै प्राकृतिक विपद्को जोखिम थप बढाउँदै लगेको बताएका छन्।
पूर्व–औद्योगिक युगमा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा प्रतिदशलाखमा २८० भाग (पीपीएम) मात्रै भएको र अहिले यो मात्रा बढेर ४३० पीपीएम पुगेको उपाध्यायको भनाइ छ। यसले वायुमण्डल तताउने ग्यासको मात्रा करिब ५३ प्रतिशतले वृद्धि भएको देखाउने उनले बताएका छन्।
उपाध्यायका अनुसार वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा हरेक वर्ष औसत २ दशमलव ५३ पीपीएमका दरले बढिरहेको छ। यसरी निरन्तर बढिरहेको कार्बन उत्सर्जनले पृथ्वीको तापक्रम बढाउँदै जाने र हिमाली क्षेत्रमा हिउँ तथा हिमनदी पग्लिने क्रम तीव्र बनाउने उनको भनाइ छ।
उनले हाल विश्वभर वार्षिक करिब ४० अर्ब टन कार्बन उत्सर्जन हुने र त्यसमा चीन सबैभन्दा ठूलो देश रहेको बताएका छन्। उनका अनुसार चीनले वार्षिक १३ दशमलव १२ अर्ब टन कार्बन उत्सर्जन गर्ने र त्यसपछि अमेरिका, भारत र रुस क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेको बताएका छन्।
यद्यपि, पूर्व–औद्योगिक युगदेखि हालसम्मको कुल कार्बन उत्सर्जनलाई हेर्दा अवस्था फरक रहेको उपाध्यायले बताएका छन्। उनका अनुसार सन् १७५० देखि हालसम्म सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने मुलुक अमेरिका हो। अमेरिकाले उक्त अवधिमा ४ खर्ब टनभन्दा बढी कार्बन उत्सर्जन गरेको बताए।
त्यसपछि युरोपेली संघ (ईयू) का २७ देशले संयुक्त रूपमा ३ खर्ब टनभन्दा बढी कार्बन उत्सर्जन गरेका छन्। चीन २ दशमलव ९ खर्ब टनसहित तेस्रो स्थानमा रहेको उपाध्यायले बताएका छन्। त्यस्तै, संयुक्त अधिराज्य (यूके) र भारतले क्रमशः ७९ अर्ब र ६६ अर्ब टन कार्बन उत्सर्जन गरेको उनको भनाइ छ।
उपाध्यायका अनुसार हाल पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा ३३ दशमलव ८ खर्ब टन पुगेको छ र यो निरन्तर बढिरहेको बताएका छन्। कार्बन उत्सर्जन बढ्दै जाँदा पृथ्वीको तापक्रम वृद्धि हुने, हिमनदी तथा हिउँ पग्लिने र त्यससँगै हिमाली तथा नदी तटीय क्षेत्रमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्ने उनले बताएका छन्।
प्रकाशित: १८ भाद्र २०८३ १२:१२ बिहीबार



