समाज

‘चिहानडाँडा’ हरियाली बनाउने राउटे अभियान

आफूले रोपेको बिरुवा गोडमेल गर्दै राउटे युवती। तस्बिर: नगेन्द्र/नागरिक

सिम्ता गाउँपालिका–९ को चिहानडाँडा साँच्चै उराठलाग्दो देखिन्छ। सिंगो डाँडामा एउटै रूख–बिरुवा छैनन्। स्थानीयको पशु–चौपाया चरन क्षेत्र भएर होला, बर्खामा हरियो देखिनेबाहेक अरू बेला उजाड देखिन्छ। मानिसको मृत्यु भएमा माटोमुनि गाड्ने ठाउँ भएकाले यसको नाम चिहानडाँडा राखिएको रहेछ।  

यही चिहानडाँडानजिकै गत जेठमा नेपालको एक मात्रै घुमन्ते समुदाय राउटे बसाइँ सरेर आयो। रूख काटेर काठका सामग्री बनाएर आफ्नो दैनिकी चलाउने राउटेहरूले चिहानडाँडामा असारको पहिलो साता बृहत् वृक्षरोपण गरे।  

राउटे आफ्नो ठाउँका नाङ्गो डाँडालाई हरियाली बनाउने अभियानमा लागेको देखेपछि स्थानीयले पनि उनीहरूलाई साथ दिए। बिरुवा रोप्नका लागि फरुवा, गैटीहरू स्थानीयले उपलब्ध गराए। डिभिजन वन कार्यालय सुर्खेतले उपलब्ध गराएको बिरुवा बोकेर ६४ जना राउटे युवा–युवती चिहानडाँडा पुग्दा स्थानीय भने उनीहरूलाई हेर्न भेला भएका थिए। ‘झन्डै तीन घन्टा लगाएर उनीहरूले खाल्डा खने, आफूहरूसँगै ल्याएका विभिन्न जातका बिरुवा रोपेर गए’, वडाध्यक्ष कविराज योगीले भने, ‘हामीले राउटेलाई रूख मात्रै काट्छन् भन्ने सुनेका थियौं, उनीहरू त झन् वर्षौंदेखिको नाङ्गो डाँडालाई हरियाली बनाउन आएका रहेछन्।’

वडाध्यक्ष योगीले चिहानडाँडा क्षेत्रलाई हरियाली बनाउने आफ्नो सपना राउटेले पूरा गरिदिएको बताए। ‘आफ्नै आँगनमुन्तिरको नांगो डाँडालाई वृक्षरोपण गरेर हरियाली बनाउने योजना भए पनि कार्यान्वयन गर्न सकिएको थिएन’, उनले भने, ‘राउटे समुदायले बिरुवा रोपिदिएको छ। अब यसको संरक्षणमा वडा सरकार लाग्छ।’

राउटेले चिहानडाँडामा वृक्षरोपण गरेपछि यसको नाम पनि परिवर्तन गर्ने सोच अध्यक्ष योगीले बनाएका छन्। ‘चिहानडाँडा नाम सुन्दै पनि अनौठो लाग्छ, पहिले–पहिले लासहरू गाड्ने भएकाले यो नाम राखिएको हो’, वडाध्यक्ष योगीले भने, ‘राउटे आएर नाङ्गो डाँडालाई हरियाली बनाउन वृक्षरोपण गरेपछि यसको नाम पनि राउटे वाटिका राख्ने सोच बनाएका छौं।’

राउटे समुदायलाई सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा रूखहरू काट्न रोकतोक छैन, तर पनि स्थानीय र राउटेबिच रूख काट्ने विषयमा बेलाबेलामा ‘झगडा’ हुन्छ। आफूहरूले वर्षौंदेखि संरक्षण गरेर राखेको वन राउटेले एकैछिनमा नाङ्गो बनाइदिँदा संरक्षण गर्ने समुदाय नरिसाउने कुरा हुँदैन। एकपटक बस्ती सर्दा राउटेले आफ्ना छाप्रा बनाउनमै सयौं साना रूख काट्छन्। ‘एउटा छाप्रो बनाउन झन्डै २० देखि ५० वटासम्म पोथ्रा (हुर्कंदै गरेका रूख) काट्छन्’, राउटे समुदायसँग काम गरिरहेको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले भने, ‘रूख काट्ने विषयमा बेलाबेला राउटे र अन्य समुदायबिच समस्या हुने गरेको छ।’ राउटे समुदायका अहिले ४० वटा छाप्रा छन्। यससँगै राउटे समुदाय काठमा निर्भर हुन्छ।

खेतीपाती नगर्ने, लेखपढ नगर्ने र एकै ठाउँमा नबस्ने यो समुदाय काठका सामग्री बिक्री गरेर आफ्नो दैनिकी चलाउँछ। काठका कोसी, मधुस, पिर्का, डाडुपन्युलगायतका सामग्री बनाउन दैनिक १० देखि १५ वटा रूख राउटेले काट्ने गर्छन्। काठका सामग्री  बनाउन राउटेले सिमल, गुराँस, टुनीलगायतका रूख काट्ने गर्छन्।  

काठ काट्ने विषयमा दुई समुदायबिच पटकपटक विवाद हुन थालेपछि कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले राउटे करिडोर क्षेत्रका सामुदायिक वन र नयाँ दर्ता हुने सामुदायिक वनको विधान र कार्ययोजनामा राउटे समुदायलाई अनिवार्य उपभोक्ताका रूपमा समेट्न परिपत्र नै गरेको छ।

तर पछिल्लो समय राउटेले आफूले काट्नेभन्दा धेरै रूख रोप्न थालेका छन्।  राउटे मुखिया प्रकाश शाही आफूहरूलाई काठका सामग्री बनाउने रूख अभाव हुन थालेपछि बिरुवा रोप्न थालेको बताउँछन्। ‘जंगलमा हामीलाई चाहिने काठ पाइन छाड्यो’, मुखिया प्रकाशले भने, ‘अहिले रोपेनौं भने पछिल्लो पुस्ताले दुःख पाउने भएकाले जहाँ जान्छौं, त्यहाँ बिरुवा पनि रोप्न थालेका छौं।’

पछिल्लो दुई वर्षमा राउटे समुदायले पाँच ठाउँमा वृक्षरोपण गरेका छन्। यसै वर्ष राउटेले विश्व वातावरण दिवसको अवसर पारेर आफू बसेको जंगलमै राउटेले उत्तिस, गुराँसलगायतका बिरुवा रोपे।  

राउटे युवा दीपक शाहीले आफूहरू रूख मात्रै काट्ने नभएर बिरुवा रोप्ने र हुर्काउने काममा पनि अग्रसर भएको बताए। ‘हामी रूख–बुटा मात्रै मास्दैनौं, पछिका सन्तानका लागि बिरुवा पनि रोप्छौं’, दीपक शाहीले भने, ‘अहिले बिरुवा रोप्यौं भने ठूलो भएपछि काट्न पाइन्छ।’  

राउटे समुदायसँग काम गर्दै आइरहेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले राउटे समुदाय र अन्य समुदायबिचको सम्बन्ध प्रगाढ बनाउन तथा रूख–बिरुवाको महत्व बुझाउन बेलाबेलामा राउटे समुदायलाई वृक्षरोपण कार्यक्रममा सहभागी गराइने गरेको बताए। ‘मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत दैलेखको गुराँस गाउँपालिकामा पहिलोपटक राउटे समुदायलाई वृक्षरोपणमा सहभागी गराएका थियौं’, उनले भने, ‘त्यसयता उहाँहरू (राउटे समुदाय) निरन्तर वृक्षरोपण अभियानमा सहभागी भइरहनुभएको छ।’

राउटे समुदाय प्रायः एकपटक बसेको ठाउँमा झन्डै १० वर्षपछि मात्रै फर्किने गर्छ। ‘१० वर्षपछिका लागि राउटेले आफू बसेको स्थानमा वृक्षरोपण गरेर जान्छ’, उनले भने, ‘अर्कोपटक त्यहाँ आउँदासम्म उनीहरूलाई आवश्यक काठको जोहो आफैंले रोपेका बिरुवाबाट होस् भन्ने हाम्रो उद्देश्य हो।’

पछिल्लो समय बोट–बिरुवाको महत्वका बारेमा राउटे समुदायले बुझ्न थालेपछि बिरुवा रोप्ने र अनावश्यक रूख बिरुवा नकाट्ने गर्न थालेको उनले बताए। ‘रूख काट्न सजिलो हुन्छ, तर लगाउन र हुर्काउन समय लाग्छ’, उनले भने, ‘हामीले रूख–बिरुवाको महत्वका बारेमा राउटे समुदायलाई बुझाउन सकेकाले अहिले उनीहरू आफैं बिरुवा रोप्छन्।’ पछिल्लो समय राउटेले बिरुवा रोपेर मात्रै जाँदैनन्, फर्केर गोडमेल पनि गर्न थालेका छन्।  

चिहानडाँडामा एक महिनाअघि रोपेका बिरुवाहरू यसै साता गएर राउटे युवतीले गोडमेल गरेका छन्। नजिक हुँदासम्म यसैगरी महिना–महिनामा आएर आफूले लगाएका बिरुवा गोडमेल गर्ने राउटे युवती गाजली शाहीले बताइन्।

प्रकाशित: २ भाद्र २०८३ ११:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App