गए रातिदेखिको अविरल वर्षासँगै पहिरो खस्दा पाल्पाका राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन्।
सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र तथा माथागढी गाउँपालिका–१ चिदीपानी आर्यभञ्ज्याङ–रामपुरखण्डमा यातायात प्रभावित भएको छ। सोही राजमार्गको सिद्धबाबा क्षेत्रस्थित ड्याम साइडमा निरन्तर पहिरो झरिरहेको छ। प्रहरी चौकी दोभानका अनुसार माथागढी गाउँपालिका–१, चिदीपानीस्थित आयुर्वेद औषधालय नजिक गुडिरहेको ट्रकमाथि पहिरो खसेको छ।
पहिरोले ट्रकमा सामन्य क्षति भएको छ। पहिरो पन्छाउन दुई डोजर परिचालन भएका छन्। लगातारको वर्षाले पाल्पाका केही स्थानमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ। तिनाउ लगायत जिल्लाका नदी तथा खोलामा पानीको सतह बढेको छ। भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन स्थाननीय प्रशासनले आग्रह गरेको छ।
प्रकाशित: ८ आश्विन २०८३ १३:२० बिहीबार