सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि त्यसको विरोधमा जनकपुरमा प्रदर्शन भैरहेको छ।
दुई समुदायबीच भएको विवादमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि त्यसको विरुद्धमा बिहीबार जनकपुर बन्द घोषणा गरी उनीहरू प्रदर्शन उत्रेका हुन्।
रामानन्दचौकमा बाटो अवरुद्ध गरी उनीहरूले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका कारण आवतजावत ठप्प भएको छ।
हिन्दुमाथि दमन बन्द गर, हिन्दु राष्ट्र कायम गर र मुस्लिम आयोग खारेज गर नारासहित उनीहरू प्रदर्शनमा उत्रेका हुन्। प्रदर्शनमा उत्रेका युवाहरू रामानन्द चौकदेखि पिराडी चौकसम्म ओहोरदोहोर गरिरहेका छन्।
युवाहरूले बाटोमा टायर बाल्न खोजेपछि प्रहरीसँग झडप समेत भएको छ। प्रदर्शनमा उत्रेका युवाहरू रामानन्द चौकबाट पिडारी चौक पुगेका छन्।
प्रकाशित: १४ श्रावण २०८३ ११:५० बिहीबार