समाज

घोप्टेभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

फाइल तस्बिर।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी यातायात सेवा नियमित भएको छ।

गए राति १ बजे खसेको पहिरो हटाएर आज दिउँसो १:३० बजेदेखि सडक दुवैतर्फ सुचारु गरिएको हो। सडक सञ्चालनमा आएसँगै लामो जाममा रोकिएका सवारी साधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।

नागढुङ्गा-मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार दिउँसो १:२५ बजे पहिरो व्यवस्थापनको काम सम्पन्न भएको थियो।

मुग्लिन र धादिङ दुवैतर्फबाट ६ वटा लोडर, एक्साभेटर तथा जेसीबी परिचालन गरी पहिरो पन्छाइएको थियो।

मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौंतर्फ पर्ने उक्त स्थानमा आइतबार दिउँसो पनि सुक्खा पहिरो खसेर केही बेर सडक अवरुद्ध भएको थियो।

गए राति पुनः पहिरो खसेपछि राजमार्ग अवरुद्ध हुन पुगेको थियो।

प्रकाशित: २३ कार्तिक २०८३ १४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App