समाज

चार लाख ५० हजार घुस लिने प्रधानाध्यापक बिचौलियासँगै पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको जय किसान माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साहलाई घुस लिने क्रममा पक्राउ गरेको छ।

आयोगका अनुसार शिक्षक नियुक्तिका लागि खुलाइएको विज्ञापनमा सेवाग्राहीले रीतपूर्वक दर्खास्त दिएपछि प्रधानाध्यापक प्रसादले बिचौलिया साहमार्फत ४ लाख ५० हजार रुपैयाँ घुस मागेका थिए। 

उक्त सूचनाको आधारमा आयोगको टंगालबाट खटिएको टोलीले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटलबाट उनीहरूलाई उक्त रकमसहित २४ असोज २०८२ मा नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। 

प्रकाशित: २५ आश्विन २०८२ १३:५५ शनिबार