समाज

आरोग्य पर्यटन प्रवर्द्धन गर्न सचिवालय स्थापनाको तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य पर्यटन प्रवर्द्धनका लागि पर्यटन बोर्डमार्फत सम्पर्क कार्यालय वा सचिवालय स्थापना गर्ने तयारी भइरहेको बताएका छन्।

बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले आरोग्य पर्यटनलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन आवश्यक जनशक्ति करारमा नियुक्त गरिने जानकारी दिए।

उनले आवश्यकताअनुसार दीर्घकालीन रूपमा कर्मचारी नियुक्त गरी कार्यक्रम सञ्चालन गरिने बताए। ‘काम गरिरहने कर्मचारी थप्छौं। आवश्यक परे पाँच वा १० वर्षका लागि करारमा कर्मचारी राखेर काम अघि बढाउँछौं। पर्यटन बोर्डमा सम्पर्क कार्यालय वा सचिवालय स्थापना गर्ने तयारी गरेका छौं,’ उनले भने।

मन्त्री पौडेलका अनुसार आरोग्य पर्यटनको विकासका लागि अनुसन्धानकर्ता, विद्यार्थी, योग तथा ध्यानका प्रशिक्षक र अभ्यासकर्तालाई समेत अभियानमा सहभागी गराइनेछ। साथै नेपालको परम्परागत खानपान, आरोग्य खेती प्रणाली, भेषभूषा तथा जीवनशैलीसँग सम्बन्धित विषयहरूको सूचीकरण गरी पर्यटनसँग आबद्ध गरिने योजना रहेको छ।

उनले नेपालको मौलिक खानपान, कृषि अभ्यास तथा जीवनशैलीलाई आरोग्य पर्यटनको आधारका रूपमा विकास गर्नुपर्ने धारणा राखे। ‘खानेकुराको पनि आफ्नै आरोग्यता छ। खेतीपातीमा आरोग्य प्रणाली छ। आरोग्य प्रकारको भेषभूषा, खानपिन र जीवनशैलीसँग जोडिएका सबै विषयको सूचीकरण गरेर अभ्यासमा लैजानुपर्छ,’ उनले भने।

 

प्रकाशित: १७ असार २०८३ १६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App