कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ।
कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको तीन करोड रूपैयाँ लगानीमा केन्द्र सञ्चालन गर्न लागिएको हो।
प्राकृतिक रूपमा उत्पादन हुने बहुमूल्य जडीबुटीको वैज्ञानिक ढङ्गले सङ्कलन, भण्डारण तथा प्रशोधन गर्न यो केन्द्र स्थापना गर्न लागिएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बताए।
खोटाङ उद्योग वाणिज्य सङ्घको समन्वयमा दिक्तेलमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताए।
उनले खोटाङमा स्थापना गर्न लागिएको यो केन्द्र कोशी प्रदेशकै एक मात्र जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र हुने बताए।
प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा सञ्चालन हुने यो केन्द्रले जडीबुटीको अव्यवस्थित सङ्कलन र निर्यात व्यवस्थित गर्दै स्थानीयस्तरमै मूल्य निर्धारण गर्ने गर्नेछ।
दश स्थानीय तह भएको खोटाङमा प्रशोधन केन्द्र सञ्चालनमा आएपछि स्थानीय युवाका लागि रोजगारीको अवसर सिर्जना हुने, जडीबुटी खेतीप्रति आकर्षण बढ्ने तथा ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
जिल्लामा स्थापना गर्न लागिएको जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र खोटाङ उद्योग वाणिज्य सङ्घसँग सम्बद्ध कार्यदलले तयार पारेको विस्तृत योजना अनुसार सञ्चालनको तयारी गरिएको छ।
प्रशोधन केन्द्र स्थापना भएपछि जडीबुटीको गुणस्तर परीक्षण, प्रशोधन, प्याकेजिङ तथा बजार व्यवस्थापन जिल्लामै गरिने जनाइएको छ।
कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा स्थानीय सरोकारवाला निकायले जडीबुटी क्षेत्रको सम्भावना र चुनौतीबारे धारणा राखेका थिए। उनीहरूले प्रदेश सरकारको यो योजनाले जिल्लाको दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
जिल्लामा उत्पादित जडीबुटी अहिलेसम्म व्यवसायीले आफूखुशी सङ्कलन गरेर लाने गरेका छन्। बहुमुल्य जडीबुटीको उचित मूल्य निर्धारण नहुँदा जिल्लाका किसान समस्यामा पर्दै आएका छन्।
सडक सञ्जाल जोडिएसँगै जिल्लामा उत्पादित जडीबुटी निर्यात हुन थालेपछि व्यवसायिक खेती गर्ने किसान बढ्दै गएकाे छ।
जिल्लाका किसानले चिराइतो, पाखनभेद, तेजपात, टिमुर, तुलसी, लोठसल्ला, लेमनग्रास र मजिटो लगायतका जडीबुटीको खेती गर्दै आएका छन्।
प्रकाशित: ३ पुस २०८२ १२:३० बिहीबार



