उपत्यकामा खाना पकाउने एलपीजी ग्याँसको चरम अभाव देखिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले ग्याँस बिक्री डिपोहरूमा प्रत्यक्ष सुरक्षाकर्मी परिचालन गरी वितरण व्यवस्था मिलाएको छ।
ग्याँसको अभावका कारण सर्वसाधारण तथा व्यावसायिक क्षेत्र प्रभावित भएपछि प्रहरीले काठमाडौंका ५५ वटा बिक्री डिपोमा सुरक्षाकर्मी खटाएर ग्याँस वितरण सुरु गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीको निगरानीमा शनिबार मात्रै ७ हजार ७३६ सिलिन्डर ग्याँस वितरण गरिएको छ। त्यसमध्ये ३ हजार १८९ सिलिन्डर सर्वसाधारणका लागि र ३ हजार ३९ सिलिन्डर व्यावसायिक प्रतिष्ठानका लागि वितरण गरिएको प्रहरीले जनाएको छ।
विशेष वितरण प्रक्रियामा सुकेधारास्थित श्री ग्याँस डिपोबाट होटल तथा व्यावसायिक क्षेत्रका लागि २ हजार ८०० सिलिन्डर वितरण गरिएको थियो। त्यस्तै, टोखास्थित जय कालिका ग्याँस डिपोबाट सर्वसाधारणका लागि २३४ सिलिन्डर वितरण गरिएको प्रहरीले जनाएको छ।
ग्याँसको अभावको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने, कालोबजारी गर्ने तथा अवैध रूपमा ग्याँस भण्डारण गर्ने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको छ।
प्रकाशित: २४ श्रावण २०८३ १३:२५ आइतबार



