पोखरा महानगरपालिकाले सडकमा छाडा छोडिएका ३२० भन्दा बढी बेवारिसे चौपायाको उद्धार गरी सुरक्षित व्यवस्थापन गरेको छ।
सडक दुर्घटना न्यूनीकरण गर्न तथा सहरी सुन्दरता कायम राख्न महानगरले यी चौपायालाई पोखरा–१४ बाच्छिवुडुवास्थित पुष्करणी परोपकार गोकुलधाममा व्यवस्थापन गरेको हो।
सडकमा अलपत्र परेका गाईगोरुको संरक्षण सुरु गरेसँगै उक्त ठाउँ हाल नमुना गोकुलधामका रूपमा चिनिन थालेको छ। हाल गौशालामा गाई, गोरु र बाच्छाबाच्छी गरी ३२० भन्दा बढी चौपाया संरक्षित छन्। यस धामले आश्रित चौपायाबाट प्राप्त हुने दूध र कम्पोष्ट मल बिक्री गरी आत्मनिर्भर बन्ने रचनात्मक काम समेत सुरु गरेको छ।
महानगरको पशु उद्धार वाहनमार्फत सडकमा जोखिमपूर्ण रूपमा रहेका जनावरलाई संकलन गरी सुरक्षित रूपमा बाच्छिवुडुवा पुर्याउने गरिएको छ। नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले सडकमा बेवारिसे अवस्थामा भेटिएका चौपायालाई उद्धार गरी नियमित रूपमा गौशाला पुर्याउने गरिएको जानकारी दिए।
‘हामीले सडकमा बेवारिसे रूपमा भेटिएका चौपायालाई तत्काल उद्धार गरी सुरक्षित रूपमा गौशालासम्म पुर्याउने कामलाई तीव्रता दिएका छौं,’ नगर प्रहरी निरीक्षक थापाले भने।
पशु अधिकारको रक्षा र सहरी व्यवस्थापनलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको यस गौशालाको व्यवस्थापन र दिगो सञ्चालनका लागि पोखरा महानगरपालिकाले बर्सेनि आर्थिक सहयोग समेत उपलब्ध गराउँदै आएको छ।
प्रकाशित: २९ असार २०८३ १५:५४ सोमबार



