पर्यटनको राजधानी पोखरा साहसिक गतिविधिका लागि प्रख्यात छ । यहाँको प्याराग्लाईडिङले पर्यटनमा महत्वपूर्ण टेवा दिइरहेको छ । हिमाल, ताल र प्राकृतिक छटाले भरिपूर्ण पोखरालाई प्याराग्लाईडिङका लागि विश्वकै उत्कृष्ट गन्तव्य स्थल मानिन्छ । त्यसैले त हावामा कावा खान विश्वभरका पर्यटक पोखरा आउने गरेका छन् ।
प्याराग्लाईडिङ सञ्चालनको तीन दशक पुग्दा पोखरामा ५७ कम्पनीले व्यवसायीक उडान गरिरहेका छन् । जहाँ ४ सय १३ प्यारापाईलटले व्यवसायीक उडान भर्छन् । पोखरा प्याराग्लाईडिङका लागि चर्चित भए पनि यहाँ हालसम्म प्यारापाईलट उत्पादन गर्ने प्याराग्लाईडिङ स्कूल थिएन । जसका कारण प्यारापाईलट उत्पादन कमजोर अवस्थामा छ ।
तर अब भने त्यो अभाव झेल्नु नपर्ने भएको छ । कास्कीको माछापुच्छ्रेमा एरोडाइनामिक प्याराग्लाईडिङ स्कुल सञ्चालनमा आएसँगै प्यारापाईलट उत्पादनमा देखिएको समस्या अब समाधान हुने भएको हो । पोखराका युवाहरु बिजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीको संयुक्त लगानीमा यो प्याराग्लाईडिङ स्कुल सञ्चालनमा आएको हो । सञ्चालक विष्णु र किरण दाजुभाई हुन् भने उनीहरु अनुभवी प्यारापाईलट पनि हुन् । प्याराग्लाईडिङ उडानको अन्र्तराष्ट्रिय संस्था एफएआई र एफआईबीबाट मान्यताप्राप्त पाईलट बिजय नेपालले एसियन गेममा रजत पदक जित्दाका एक प्रमुख प्यारापाईलट खेलाडी पनि हुन् ।
प्यारापाईलट उत्पादन गर्ने उद्धेश्यले कास्कीमै पहिलो पटक डेढ करोड लगानीमा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–५ को रिभानमा प्याराग्लाईडिङ स्कुल सञ्चालनमा ल्याईएको सञ्चालक बिजय गौतमले जानकारी दिए । उनका अनुसार यस स्कुलले समुन्द्री सतहभन्दा १ हजार ६ सय ८० मिटरको उचाईमा रहेको रिभानस्थित मैचेडाँडाबाट टेकअफ (उडान) भर्नेछ भने १ हजार ५० मिटरको उचाईमा रहेको मर्दी नदी किनार बेसीमा ल्याण्डिङ (अवतरण) गर्नेछ ।
प्याराग्लाईडिङका लागि उत्कृष्ट गन्तव्य स्थल भएकाले आफूहरुले प्याराग्लाईडिङ स्कुल सञ्चालनका लागि रिभान राजेको सञ्चालक तथा पाईलट बिजय गौतमले बताए । भने,‘विश्वका उत्कृष्ट हिमालहरु मचापुच्छ्रे, अन्नपूर्ण हिमश्रृंखला हेर्दै हावामा कावा खाने यो स्थल साँच्चिकै सुन्दर र उत्कृष्ट छ ।’
एरोडाइनामिक प्याराग्लाईडिङ स्कुलले १५ दिनको बिगिनर (शुरुवाती) कोर्षदेखि ईन्टरमिडियट कोर्ष, क्रस कन्ट्रीदेखि टेण्डमको टि–वान र टि–टुसम्मको कोर्ष सञ्चालन गर्नेछ । एक सेसनमा ६ जनाको कोटा राखेर प्रशिक्षण गराईने गौतमले जानकारी दिए ।

प्याराग्लाईडिङ स्कुल सञ्चालनका लागि ९ ठाउँबाट अनुमति लिइएको गौतमले बताए । उनका अनुसार एरोडाइनामिक प्याराग्लाईडिङ स्कुल सञ्चालनका लागि कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व, पर्यटन मन्त्रालय, नागरिक उड्डयन, एक्याप, नेपाल हवाई खेलकुद संस्था ‘ना’, माछापुच्छ्रे गाउँपालिका र वडा कार्यालयमा दर्ता गरिएको छ । प्याराग्लाईडिङ स्कुल सञ्चालनका लागि गाउँपालिकाले हाल निःशुल्क टेकअफ र ल्याण्डिङ स्थल उपलब्ध गराएको छ भने गण्डकी प्रदेश सरकारले यी स्थल सम्याउन सहयोग गरेको छ ।
बिहीबारदेखि सञ्चालनमा आएको एरोडाइनामिक प्याराग्लाईडिङ स्कुलको गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले प्यारापाइलट बिजय दाहाललाई ग्लाईडर हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । लगत्तै प्यारापाइलट गौतमले प्याराग्लाईडिङ उडान भरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद बरालले प्याराग्लाईडिङ उडानको केन्द्र बनेको सराङकोटको विकल्प रिभान बन्ने विस्वास व्यक्त गरे । जसरी प्याराग्लाईडिङले पोखराको समृद्धिमा टेवा पुर्याईरहेको छ, त्यसरी नै माछापुच्छ्रेको समृद्धिमा पनि टेवा पुर्याउनेछ भन्ने विस्वास व्यक्त गर्दछु ।’
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले प्याराग्लाईडिङ स्कुलले माछापुच्छ्रेको विकासमा सघाउने विस्वास व्यक्त गरे ।
माछापुच्छ्रे–८ का वडाध्यक्ष राम गुरुङले प्याराग्लाईडिङ स्कुल सो क्षेत्रको विकासको गेम चेञ्जर बन्ने विस्वास व्यक्त गरे ।
स्थानीय समाजसेवी यामबहादुर गुरुङले प्याराग्लाईडिङ स्कुल सञ्चालनमा आएसँगै पर्यटक आगमन र आर्थिक गतिविधि बृद्धि हुने र त्यसले गाउँ छाडेका रिभानबासीलाई गाउँमै फर्केर ईलम गर्ने वातावरण बनाउने विस्वास व्यक्त गरे ।
एरोडाइनामिक प्याराग्लाईडिङ स्कुलका सञ्चालक विष्णु गौतमले स्थानीयसँगको सहकार्यमा रिभानलाई पर्यटनको हब बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
प्रकाशित: ३ मंसिर २०८३ १७:४७ बिहीबार
-600x400.jpg)


