समाज

उत्कृष्ट निर्वाचन प्रहरी र विपद् स्वयंसेवक सम्मानित

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरी, समुदायस्तरका विपद् स्वयंसेवक तथा विपद् सूचकलाई सम्मान गरेका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सुरक्षाकर्मी र विपद् उद्धारमा सहयोग गर्ने नागरिकलाई सम्मान गरिएको हो। चैत्र २२ गते सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीको २५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालले उनीहरूलाई सम्मान गरेका हुन्।

No description available.

सम्मानित निर्वाचन प्रहरी टोलीले निर्वाचन अवधिमा बैतडी जिल्लाको दशरथचन्द्र नगरपालिका–४ स्थित वीरेन्द्र माध्यमिक विद्यालय साईलेक मतदान केन्द्रमा खटिँदै अपाङ्ग तथा वृद्धवृद्धालाई मतदान केन्द्रसम्म पुर्‍याउन तथा फर्काउन उल्लेखनीय योगदान दिएको थियो।

त्यसैगरी, विपद् स्वयंसेवकहरूले डुबानलगायत विपद्का जोखिमपूर्ण अवस्थामा आफ्नो ज्यानको पर्वाह नगरी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। विपद् सूचकहरूले भने विभिन्न घटनामा समयमै सशस्त्र प्रहरीलाई सूचना दिई स्वयं पनि उद्धार कार्यमा सक्रिय सहभागिता जनाएका थिए।

No description available.

समुदायस्तरबाटै विपद् व्यवस्थापन सुदृढ बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले देशभर १ हजार १ सय १४ जनालाई विपद् स्वयंसेवक तालिम प्रदान गरेको छ। साथै, प्रत्येक वडामा २५ जनाको दरले विपद् सूचक समूह गठन गरिएको छ। यसअनुसार देशका ६ हजार ७ सय ४५ वडामा गरी १ लाख ६८ हजार ५ सय ७५ जना विपद् सूचक परिचालनमा रहेका छन्।

सशस्त्र प्रहरी बलका अनुसार यस्ता कार्यक्रमले समुदाय र सुरक्षा निकायबीचको सहकार्य बलियो बनाउँदै विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: २२ चैत्र २०८२ १८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App