समाज

बाढीपीडितको पीडामा गालीगलौजले रंगिएको सामाजिक सञ्जाल देखेर आक्रोशित निशा र सुरक्षा

भोटेकोशी बाढीमा श्रीमान् बेपत्ता भएपछि काखे नानीसहित उद्धार र खोजीका लागि हारगुहार गरिरहेकी एक महिलाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको पक्षमा रास्वपा सांसद निशा डाँगी र अभिनेत्री सुरक्षा पन्तले आवाज उठाएका छन्।

भाइरल भिडियोमा रसुवाको टिमुरेबाट काठमाडौं आउँदै गर्दा भदौ १० गते आएको बाढीमा श्रीमान् बेपत्ता भएपछि ती महिलाले सरकारले खोजी तथा उद्धारमा पर्याप्त पहल नगरेको भन्दै गुनासो गरेकी छन्। उनले आफूले परिवारका अन्य सदस्यसमेत गुमाएको र घरसमेत नरहेको अवस्थामा श्रीमानको खोजीका लागि विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएको बताएकी छन्। भावविह्वल हुँदै उनले श्रीमानको ‘सास वा लास भए पनि भेटाइदिन’ सरकारसँग आग्रह गरेकी छन्।

यो पनि पढ्नुहोस्

श्रीमानको खोजी नभएपछि सरकारप्रति आक्रोश व्यक्त गरेकी महिलालाई सामाजिक सञ्जालमा गालीगलौज

उनको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले गालीगलौज र आलोचना गरेपछि सांसद डाँगीले त्यसप्रति आपत्ति जनाएकी छन्। उनले बाढीले श्रीमान् गुमाएकी र काखमा बच्चा बोकेकी महिलाको पीडालाई बाहिर बसेर नाप्न नसकिने बताएकी छन्। डाँगीले ती महिलाले कुनै ‘तमासा’ नदेखाएको भन्दै आफ्नो पीडा र असहायपन व्यक्त गरेको बताएकी छन्। विपत्तिमा परेका मानिसलाई गाली गर्नुको सट्टा उनीहरूको पीडा बुझ्नुपर्ने उनले बताएकी छन्।

‘सरकारले राम्रो काम गरिरहेको छ भने त्यसको मूल्यांकन गर्ने समय पछि पनि आउँछ। कमजोरी भएको छ भने प्रश्न गर्ने समय पनि आउँछ। तर अहिले, विपत्तिको बीचमा पीडितमाथि नै यसरी हेट कमेन्ट गर्ने अधिकार हामीलाई कसले दियो?’ डाँगीले लेखेकी छन्। उनले बाढीमा घर, परिवार र आफन्त गुमाएका मानिसको अवस्था बुझेर पीडितलाई थप दुःख दिने होइन, साथ दिने समाज बनाउनुपर्ने बताएकी छन्।

यस्तै अभिनेत्री सुरक्षा पन्तले पनि सामाजिक सञ्जालमार्फत यसबारे आक्रोश व्यक्त गरेकी छन्। उनले ‘कुनै अर्को सेना बल आवश्यक छ भने यही अराजकतालाई अधिनमा राख्ने मात्र अब। यो हद पार हो’ भन्दै सामाजिक सञ्जालमा बढेको अराजक व्यवहारप्रति आपत्ति जनाएकी छन्।

प्रकाशित: २० भाद्र २०८३ १४:११ शनिबार