समाज

निर्मल पुर्जाको शव बेलायत लगियो

निर्मल पुर्जाको शव। तस्बिर: एएफपी<br>

पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी ज्यान गुमाएका विश्वकीर्तिमानी नेपाली-ब्रिटिस आरोही निर्मल पुर्जा ‘निम्सदाई’ को पार्थिव शरीरलाई बेलायत लगिएको छ।

परिवारको निर्णयअनुसार उनको शवलाई आइतबार पाकिस्तानको राजधानी इस्लामाबादबाट लन्डन उडाइएको हो।

पुर्जाकी श्रीमती र नजिकका परिवारजन बेलायतमा बसोबास गर्दै आएकाले उनको शव बेलायत लैजाने निर्णय गरिएको अधिकारीहरूले बताएका छन्।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पुर्जाको शव नेपाल ल्याएर नेपाली जनतालाई अन्तिम श्रद्धाञ्जली दिने व्यवस्था मिलाइनुपर्ने बताएका थिए।

यस्तै, नेपाल सरकारले उनको शव स्वदेश ल्याउन पर्याप्त कूटनीतिक पहल नगरेको भन्दै पर्वतारोहण क्षेत्रका कतिपय व्यक्तिहरूले प्रश्न उठाएका छन्।

गत साउन १४ मा ब्रोड पिकमा आएको विनाशकारी हिमपहिरोमा परी १० जना अन्तर्राष्ट्रिय आरोही टोलीको मृत्यु भएको थियो। जसमा पुर्जासहित ६ जना नेपाली आरोही थिए।

मृतक नेपालीमध्ये पुरबहादुर गुरुङ ‘युक्त’ को शव गत बिहीबार नै नेपाल ल्याइसकिएको छ।

यस्तै, दुर्घटनास्थलबाट संकलन गरी इस्लामाबाद ल्याइएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव भने सम्पूर्ण प्रक्रिया पूरा गरी मङ्गलबार वा बुधबारसम्म काठमाडौं ल्याउने तयारी भइरहेको छ।

अत्यधिक भौगोलिक कठिनाइ र खराब मौसमका कारण अर्का नेपाली आरोही नवाङ थिन्डु शेर्पा, एक जना पाकिस्तानी र एक जना अमेरिकी आरोहीको शव भने अझै हिमालबाट संकलन गर्न सकिएको छैन।

दुर्घटनामा नेपालीहरूसहित चीनका वाङ जोङ, अमेरिकाकी सारा मेलोरी गिस, पाकिस्तानका सोहेल साखी र ओमानकी नाधिरा अल हार्थीको ज्यान गएको थियो।

म्याग्दीको दुर्गम गाउँ दानामा जन्मिएका पुर्जाले करिब १६ वर्ष ब्रिटिस गोर्खा र त्यसको विशेष जलसेना (स्पेशल बोट सर्भिस) मा सेवा गरेका थिए। सन् २०१८ मा सैन्य सेवा र आरोहणका लागि सम्मान पाएका उनले सन् २०१९ मा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल मात्र ६ महिना ६ दिनमा आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका थिए।

१८ वटा गिनिज वर्ल्ड रेकर्ड बनाएका उनी उच्च हिमाली उद्धार र मानवीय कार्यमा समेत सक्रिय थिए।

नेपाली हाई-एल्टीच्युड गाइड र आरोहीहरूलाई केवल विदेशीका सहयोगी नभई आफैंमा दक्ष र नेतृत्वदायी आरोहीका रूपमा विश्वमा स्थापित गराउन उनले ऐतिहासिक योगदान पुर्‍याएका छन्।

पुर्जाको निधनपछि बेलायतका राजकुमार (प्रिन्स अफ वेल्स) र राजकुमारी (प्रिन्सेज अफ वेल्स) ले शोक व्यक्त गरेका छन्। विश्व हिमाल आरोहणको इतिहासमा अद्भूत योगदान दिएका पुर्जाको अन्तिम यात्रा जन्मभूमि नेपाल नभई उनको परिवारको कर्मभूमि बेलायतमा हुनेछ।

प्रकाशित: २४ श्रावण २०८३ २०:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App