समाज

भर्जिनियामा नेपाली पुरुषद्वारा श्रीमती, छोरी र ज्वाइँको हत्या, प्रहरीको गोली लागेर आक्रमणकारीको मृत्यु

अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूलाई छुरा प्रहार गरी हत्या गरेको आरोप लागेका एक नेपाली पुरुषको प्रहरीको गोली लागेर मृत्यु भएको छ।

फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेविसका अनुसार सोमबार बिहान करिब ५ बजे म्यान्टुआ नजिक पर्सिमन ड्राइभको ३९०० ब्लकस्थित एक अपार्टमेन्टमा पारिवारिक झगडाको सूचना पाएपछि प्रहरी पुगेको थियो।  

त्यहाँ पुग्दा संदिग्ध व्यक्ति आफ्नै परिवारका सदस्यहरूलाई छुराले आक्रमण गरिरहेको अवस्थामा फेला परेका थिए। प्रहरीले पटक–पटकको हतियार छोड्न भने पनि आदेशलाई बेवास्ता गरेपछि एक प्रहरीले गोली चलाएका थिए। घटनास्थलमै उनलाई सीपीआर दिइए पनि मृत्यु भएको घोषणा गरिएको थियो।

नेपाली भाषाको समाचार पोर्टल खासोखास डट कमका अनुसार संदिग्धको नाम छत्रबहादुर थापा हो। मृतकहरूमा उनकी ५१ वर्षीया श्रीमती बिन्दा थापा, ३१ वर्षीया छोरी ममता थापा र ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत रहेका छन्। श्रीमती र छोरीलाई अस्पतालमा मृत घोषणा गरिएको थियो भने ज्वाइँ गम्भीर घाइते भएका थिए र उपचारका क्रममा उनको पनि मृत्यु भएको हो।

प्रहरीका अनुसार छत्रबहादुरले करिब १० इन्च लामो घुमाउरो मासु काट्ने छुराजस्तो हतियार प्रयोग गरेका थिए। प्रहरी प्रमुख डेविसले घटनास्थलमा पुग्दा छत्रबहादुरले ज्वाइँलाई छुरा प्रहार गरिरहेको बताएका छन्। पत्रकार सम्मेलनमा उनले भने, ‘एक व्यक्तिको ज्यान जाँदै गरेको अवस्थामा हाम्रो प्रहरीले गोली चलाए।’

अपार्टमेन्टभित्र रहेका एक वर्षे बालक भने सकुशल रहेको र बाल संरक्षण सेवाको जिम्मामा राखिएको प्रहरीले जनाएको छ। उक्त निवासमा यसअघि घरेलु हिंसासम्बन्धी कुनै अभिलेख वा प्रहरी उजुरी नभएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार बडी क्यामेरा फुटेजको प्रारम्भिक समीक्षा गर्दा प्रहरीले थप क्षति रोक्न बल प्रयोग गर्दा निर्धारित कार्यविधि पालना गरेको देखिएको छ।

प्रकाशित: १२ फाल्गुन २०८२ १८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App