समाज

अवैध ‘हुण्डी’ कारोबार नगर्न युएईस्थित नेपाली दूतावासको आग्रह

संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अवैध वित्तीय कारोबार ‘हुण्डी’ नगर्न तथा नगराउन आग्रह गरेको छ। दूतावासले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै विदेशमा रहँदा अनौपचारिक रूपमा विप्रेषण (रेमिटेन्स) गर्ने वा नेपाल नपठाउने कार्य गैरकानुनी रहेको जनाएको छ।

दूतावासका अनुसार नेपाल सरकारको नीति बमोजिम विदेशबाट पठाइने विप्रेषण रकम वैधानिक वित्तीय माध्यममार्फत मात्र पठाउनुपर्ने व्यवस्था छ। यस्तो सूचनाबारे दूतावासले नियमित रूपमा परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय तथा सम्बन्धित निकायमा जानकारी गराउँदै आएको जनाएको छ।

सूचनामा यूएईमा कार्यरत कुनै पनि नेपाली व्यक्ति वा संस्थाले अनौपचारिक रूपमा हुण्डी कारोबार गरे वा गराएको पाइएमा त्यो गैरकानुनी ठहरिने उल्लेख छ। त्यस्तो कार्यमा संलग्न व्यक्ति वा संस्थाको विवरण प्रमाणसहित दूतावासको इमेलमा उपलब्ध गराइ सहयोग गर्न पनि अनुरोध गरिएको छ।

नेपाली राजदूतावासले अवैध वित्तीय कारोबार निरुत्साहित गर्न यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायसँग सहकार्यको अपिल गरेको छ।

प्रकाशित: १ पुस २०८२ १४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App