नेपालले क्यारेबियन सागरमा अवस्थित ग्रेनाडासँग औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना गरेको छ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन्।
हस्ताक्षरअघि दुई मन्त्रीले आपसी चासोका विभिन्न विषयमा छलफल गरेका थिए। उनीहरूले दिगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयनमा तीव्रता दिनुपर्ने र जलवायु परिवर्तनका असर सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए।
उनीहरूले पर्यटन, शिक्षा लगायत साझा चासोका क्षेत्रमा अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल गरेका थिए।
ग्रेनाडासँग सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशको संख्या १८६ पुगेको छ।
ग्रेनाडा क्यारेबियन सागरमा अवस्थित सानो टापु देश हो, जसको राजधानी सेन्ट जर्जेस हो। सन् २०२५ को अनुमानअनुसार ग्रेनाडाको जनसंख्या करिब एक लाख १७ हजार १०० छ। मुख्य ग्रेनाडा टापुसहित क्यारियाकु र पेटिट मार्टिनिक गरी यस देशमा तीन प्रमुख टापु छन्।
ग्रेनाडा संवैधानिक राजतन्त्रात्मक व्यवस्था भएको स्वतन्त्र कमनवेल्थ राष्ट्र हो। त्यहाँ सरकारको नेतृत्व प्रधानमन्त्री डिकन मिचेलले गर्छन् भने राष्ट्र प्रमुख बेलायती राजा चार्ल्स तृतीय हुन्। उनलाई ग्रेनाडामा गभर्नर जनरल डेम सेसिल ला ग्रेनाडेले प्रतिनिधित्व गर्छिन्।
प्रकाशित: ७ आश्विन २०८३ ०७:३८ बुधबार