समाज

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

नेपाल रेडक्रस सोसाइटी, काठमाडौं जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ।

काठमाडौँ महानगरपालिकासहित अन्य १० पालिकाका विभिन्न ३० मतदान केन्द्रमा चारचार स्वयंसेवकले सेवा प्रदान गर्ने छन्। साथै ती स्वयंसेवकको अतिरिक्त शाखाले एम्बुलेन्ससहित सातजनाको अलग टोली तयारी गरेको छ।

जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले मतदान केन्द्रमा आकस्मिक प्राथमिक उपचार सेवा उपलब्ध गराउनुपर्ने स्थिति सिर्जना हुन सक्ने अवस्था मध्यनजर राखी स्थानीय रूपमा प्राथमिक उपचार टोली तथा सामग्रीहरू पूर्वतयारी गरिएको बताए।

उनले भने, “प्राथमिक उपचार स्वयंसेवकले तत्काल प्राथमिक उपचार सेवा आवश्यक पर्नेलाई सेवा प्रदान गर्नेछन्।”

यसका लागि जिल्ला शाखाले प्राथमिक उपचार स्वयंसेवकहरूका लागि अभिमुखीकरणसमेत आयोजना गरेको थियो। अभिमुखीकरणमा प्राथमिक उपचार पुनर्ताजगी, सुरक्षित पँहुच, मनोसामाजिक सहयोग र मनोवैज्ञानिक प्राथमिक उपचार लगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको छ। शाखाले स्वयंसेवकहरूलाई मानवीय सेवाका विभिन्न गतिविधि सञ्चालनमा परिचालन गर्दै आएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App