समाज

मदिराको मातमा ईट्टा प्रहार गरि श्रीमतीको हत्या

मादक पदार्थ सेवन गरी ईट्टा प्रहार गरेर श्रीमतीको हत्या गर्ने सुरुङ्गा नगरपालिका–१ शिसुवारी मुसहरी टोलका ५६ वर्षीय कोसिया सदाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।

श्रीमानको कुटाइबाट गम्भीर घाइते ५२ वर्षीया फुल कुमारी सदाको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले उनीविरुद्धको मुद्दा परिणत गरेको हो।

गत साउन २० गते बेलुकी करिब ६ बजे मादक पदार्थ सेवन गरेका कोसियाले घरमै श्रीमती फुल कुमारीलाई कुटपिट गर्दै टाउकोमा ईट्टा प्रहार गरेका थिए।

गम्भीर घाइते भएकी उनलाई इलाका प्रहरी कार्यालय भेडिया सुरुङ्गाको टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल लहान, सिरहा पठाएको थियो।

घटनालगत्तै नियन्त्रणमा लिइएका कोसियाविरुद्ध इलाका प्रहरी कार्यालय कदरबोनाले सुरुमा अभद्र व्यवहार मुद्दामा जिल्ला अदालत सप्तरीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो। तर, उपचारकै क्रममा साउन २४ गते बिहान ३:३० बजे प्रादेशिक अस्पताल लहानमा फुल कुमारीको मृत्यु भयो।

मृतककी छोरी लिला सदाले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले अभद्र व्यवहारको मुद्दालाई कर्तव्य ज्यानमा परिणत गरेको छ।

आरोपी सदामाथि साउन २४ गतेदेखि लागू हुने गरी जिल्ला अदालत सप्तरीबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमराज घिमिरेले जानकारी दिए।

प्रकाशित: २६ श्रावण २०८३ १५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App