लागातार दुई दिनदेखिको अविरल वर्षाले रौतहट जिल्लाका अधिकांश भूभाग डुबानमा परेको छ। वागमती, लालबकैया, झाँझसहितका नदीमा आएको बाढीले रौतहटको अधिकांश भूभाग डुबानमा परेको हो।
झाँझ नदीमा आएको बाढीका कारण गौर–गंगापिपरा सडक खण्ड आइतवार बिहानदेखि पूर्णरुपमा अवरुद्ध छ। बाढीबाट दुर्गा भगवती गाउँपालिकाको सबै वडाका करिब २५ प्रतिशत घरमा बाढी पसेको छ।
दुर्गाभगवती गाउँपालिका २ गंगापिपरा र ३ मत्सरीका दर्जन बढी घरमा बाढी पसेपछि स्थानीय प्रशासनको सहयोगमा तत्कालै उद्धार गरी गाउँकै सरस्वती माध्यमिक विद्यालयमा राखिएको प्रहरी प्रवत्ता डिएसपी राजु काकीले बताए।
यसैगरी लालबकैया नदीमा आएको बाढीका कारण राजपुर नगरपालिका ३ स्थित हुलाकी राजमार्ग अवरुद्ध भएको छ । बाढीका कारण हुलाकी सडक अवरुद्ध भएपछि सदरमुकाम गौर आवतजावतमा कठिनाई भएको राजपुरका मेयर राजिक आलमले बताए।
चन्द्रपुर नगरपालिका वडा नम्बर १ र २ को बीचमा पर्ने पूर्वी लचकामा पानीको बहाव अत्याधिक बढेको कारण पूर्वपश्चिम राजमार्ग विहानैदेखि अवरुद्ध रहेको छ।
यस्तै गुजरा ८ स्थित लमहा खोलामा पानीको बहाव उच्च भएपछि बालचनपुर जंगलसैया भित्री सडकको अवागमन अवरुद्ध भएको छ।
वृन्दावन नगरपालिकास्थित वागमती नदीको वगरमा बाढीको पानीमा फसेका १२८ घर परिवारलाई उद्धार गरी सुरक्षित स्थान सारिएको छ।
यसैगरी गढीमाई नगरपालिका लक्ष्मिपुर देखि लिएर धरमपुरको वागमती पुलसम्म पानीको बहाव अत्याधिक बढेका कारण बाँध फुट्ने सम्भावना उच्च रहेकोले सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका छन्।
वीरगञ्ज जलमग्न
सिर्सिया र तिलावे नदीमा आएको बाढीका कारण वीरगञ्जका अधिकांश भूभाग डुवानमा परेको छ । बाढी पसेपछि वीरगञ्ज महानगरका वडा नम्बर ९, १०, ११, १३ र २४ का बस्तीमा जनजीवन प्रभावित भएको छ।
सिर्सिया र तिलावे नदीमा आएको बाढीको पानीले डुवानग्रस्त भएका क्षेत्रमा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले स्थलगत निरिक्षण गरी उद्धार र राहत कार्यमा जुटन सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।
सिर्सिया र तिलावे नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न मेयर सिंहले आग्रह गरेका छन्। स्थानीय प्रशासन र स्वयंसेवकहरूको सक्रियताले प्रभावित क्षेत्रमा राहत कार्यले गति लिए पनि बाढीको दीर्घकालीन समाधानका लागि नदी नियन्त्रण र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ।
सर्लाहीको जनजिवन प्रभावित
दुई दिनदेखिकफ वर्षको कारण सर्लाही कौडेनास्थित लखनदेही खोलामा आएको बाढीको कारण जनजिवन प्रभावित बनेको छ।
कौडेना गाउपालिकाको पर्सा र छपकैया टोलमा लखनदेही खोलामा आएको बाढीको पानी प्रवेश गरी दुईदर्जन बढी परिवार विस्थापित भएका छन्। बाढीको पानी बस्तीमा प्रवेश गरेपछि स्थानीय प्रशासनले तत्काल उद्धार गरी करिब सय जनालाई सुरक्षित स्थानमा पुर्याएको छ।
लखनदेही खोलामा आएको बाढीको कारण हुलाकी सडकको करिब दुई किलोमिटर सडक डुवानमा परी बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय सार्लहीका प्रहरी प्रवत्ता डिएसपी सरोज राइले बताए।
यसैगरी लखनदेही खोलामा आएको बाढीले सर्लाहीको शिवनगरका ३ सय ५० घर परिवारलाई स्थानीय प्रशासनले सुरक्षित साथ उद्धार गरी अग्लो स्थानमा पुर्याएका छन्।
महोतरी सदरमुकाम डुवानको खतरा
महोत्तरीको रातु नदीमा आएको बाढीले तिन स्थानमा बाँध कटान गरेर बगाएपछि महोतरी सदरमुकाम जलेश्वर डुवानको जोखिममा परेको छ।
जलेश्वर नगरपालिकाको रतबारास्थित रातु नदीमा आएको बढीले बलवा, लोहारपट्टी, लगायतका स्थानको बाँध कटान भइर फुटेपछि सदरमुकाम जलेश्वरलगायतका स्थान असुरक्षित बन्दै गएको र डुवानको जोखिम बढेको महोतरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए।
बाँध कटान भएको स्थानबाट पानीको स्तह बढेर थप कटान भयो भने जलेश्वर लगायतका स्थानमा बाढीको जोखिम बढेको प्रजिअ रिसालको तर्क छ। अहिले रातु नदीमा पानीको सतह घट्दो क्रममा रहेको छ।
प्रकाशित: १९ आश्विन २०८२ १९:२६ आइतबार