कोशी प्रदेशमा चालू आर्थिक वर्षको हालसम्म ९९.१५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।
प्रदेश कृषि निर्देशनालयले सोमबार सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार अनुकूल मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष करिब २ प्रतिशत बढी क्षेत्रफलमा रोपाइँ सकिएको हो।
गत वर्ष भदौ ८ गतेसम्म ९७.२५ प्रतिशत मात्र रोपाइँ भएको थियो।
निर्देशनालयका अनुसार कोशी प्रदेशका तीन जिल्ला सुनसरी, ओखलढुंगा र सोलुखुम्बुमा शतप्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम धनकुटामा ९५.६९ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ।
भौगोलिक अवस्थितिअनुसार तराईका जिल्लाहरूमा सबैभन्दा धेरै ९९.४६ प्रतिशत, उच्च पहाडी भेगमा ९८.७५ प्रतिशत र मध्यपहाडी क्षेत्रमा ९८.३७ प्रतिशत रोपाइँ भएको छ।
तराईका प्रमुख अन्न भण्डार मानिने झापामा ९९.५३ प्रतिशत र मोरङमा ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ।
यस्तै, पहाडी तथा हिमाली जिल्लाहरूमध्ये खोटाङमा ९९.६३ प्रतिशत, ताप्लेजुङमा ९९.६० प्रतिशत, इलाममा ९९ प्रतिशत, उदयपुरमा ९८.८८ प्रतिशत, पाँचथरमा ९८.३५ प्रतिशत, संखुवासभा र तेह्रथुममा समान ९८ प्रतिशत तथा भोजपुरमा ९७ प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ।
कोशी प्रदेशमा कुल २ लाख ७६ हजार ३ सय ८६.७२ हेक्टर क्षेत्रफल धानखेतीयोग्य जमिन रहेकोमा हालसम्म २ लाख ७४ हजार ४०.६२ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ।
समयमै मनसुन सक्रिय भएको र रोपाइँको क्षेत्रफलसमेत बढेकाले यस वर्ष प्रदेशमा धानको समग्र उत्पादन वृद्धि हुने कृषि प्राविधिकहरूको अनुमान छ।
प्रकाशित: ९ भाद्र २०८३ २०:०६ मंगलबार



