समाज

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ। पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन्।

मादी गाउँपालिका-१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख (कात्तिक १५-२० गते) सम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन्। यस आधारमा सिक्लेसमा दैनिक औसत ५२४ जना पर्यटक भित्रिएका उनले बताए।

गाउँ पुगेका पर्यटकमध्ये अधिकांशले सिक्लेसको बसाइँपछि प्रख्यात पर्यटकीय गन्तव्य कोरी तथा हिमनदी तालक्हफुचेतर्फ पदयात्रा तय गर्ने वडाध्यक्ष गुरुङले बताए।

छ दिनको पर्यटक आवागमनको विवरणअनुसार सबैभन्दा बढी पर्यटक कात्तिक १८ गते सिक्लेस पुगेका छन्। सो दिन एकैपटक ७१९ पर्यटक गाउँ पुगेका थिए भने सबैभन्दा कम कात्तिक १५ गते २५४ जना यहाँ पुगेका वडाध्यक्ष गुरुङले बताए।

पर्यटकको यस्तो उत्साहजनक आगमनले स्थानीय होटल तथा घरबास (होमस्टे) व्यवसायीमा नयाँ उत्साह थपेको उनले बताए।

कास्कीको सदरमुकाम पोखराबाट करिब ३८ किमीको दूरीमा पर्यटकीय गाउँ सिक्लेस अवस्थित छ। यस गाउँमा करिब ४०० घरधुरी छन्। यहाँ गुरुङ समुदायको बाहुल्य छ।  

प्रकाशित: २२ कार्तिक २०८३ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App