समाज

विपद्जन्य जोखिममा सतर्क रहन महानगरको आग्रह

काठमाडौं महानगरपालिकाले यही असोज ९ देखि ११ गतेसम्म भारी तथा अतिभारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै महानगरवासीलाई सतर्क रहन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार ती दिन अत्यधिक वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने र सडकमा जलमग्न हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महानगरले आग्रह गरेको हो।

महानगरपालिकाको शिक्षा विभागकी महाशाखा प्रमुख सरस्वती पोखरेलले विद्यालय आउँदा–जाँदा बालबालिकालाई जोखिम हुनसक्ने भएकाले थप सावधानी अपनाउन आग्रह गरेकी छन्।

उनले विद्यार्थीलाई नदी, खोला, खुला ढल तथा डुबान भएका सडकबाट टाढा रहन, विद्यालय आउँदा सुरक्षित बाटो प्रयोग गर्न र कक्षाकोठामा आवश्यक सावधानीबारे जानकारी गराउन आग्रह गरिन्। विद्यालय परिसरमा पानी जम्ने, पर्खाल भत्किने वा पहिरो जानेजस्ता जोखिम भए नभएको यकिन गरी तत्काल आवश्यक सुरक्षा प्रबन्ध मिलाउन पनि उनले आग्रह गरेकी छन्।

आपत्कालीन अवस्था आएमा स्थानीय प्रहरी तथा विपद् व्यवस्थापन समितिसँग समन्वय गर्न पनि महानगरले आग्रह गरेको छ। मौसमको अवस्था अत्यन्तै प्रतिकूल भएमा विद्यार्थीको ज्यान जोखिममा पर्न सक्ने भएकाले महानगरपालिकाको शिक्षा विभागसँग समन्वय गरी पठनपाठन बन्द गर्ने वा वैकल्पिक व्यवस्था गर्ने निर्णय लिन सकिने छ।

प्रकाशित: ८ आश्विन २०८३ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App