समाज

सहिद परिवार भन्छन् : जेनजी भावनाअनुसार काम भएन

जेनजी आन्दोलनको एक वर्ष

जेनजी आन्दोलनका सहिद अविषेक चौलागाईंका पिता दिनेश त्यतिबेला नेपाल प्रहरीमा जागिरे थिए। उनी अहिले त्यहाँ छैनन्। राजीनामा दिएर बसेका छन्। नेपालमा गत वर्षको भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो।

‘नेपाल प्रहरीले जुन दिन निर्दोष मेरो छोरा अविषेकलाई गोली हानेको थाहा पाएँ, त्यही दिनदेखि मैले प्रहरीको जागिर छोडिदिएँ, उनले भने, ‘छोरा मारिएको बेला म नेपाल प्रहरीमै बसेर कसरी काम गर्न सक्थे र?’ उनका अनुसार आन्दोलनका बेला उनी भक्तपुरको नगरकोटमा ड्युटीमा थिए।

दिनेशका अनुसार त्यो दिन होटेलको काम सकेर २१ वर्षीय अविषेक सरस्वतीखेल जान भनेर हिँडेका थिए। स्थायी घर दोलखा शैलुङ-४ सेराबेंसी भए पनि सात वर्षदेखि उनी बाबुआमासहित सपरिवारका साथ चाँगुनारायण-१ सरस्वतीखेल बस्दै आएका थिए।

‘छोराले फोन गरेर होटेलमा मलाई निद्रा लागेन बाबा म घरमै आउँछु भनेर भनेको थियो,’ घटना भएको दिन स्मरण गर्दै दिनेशले भने, ‘मैले आन्दोलन शान्त भएर अलि सहज भएपछि भित्री सडकबाट आउनु भनें तर मुख्य बाटो नै आएको रहेछ, जे नहुनु थियो, त्यही भयो।’ छोराले घर हिँडे भनेर दिउँसो २ बजेतिर फोन गरेको सम्झँदै दिनेश भन्छन्, ‘निकै बेरसम्म नआएपछि मैले फोन गरें, फोन लागेन। पटक पटक फोन गरे तर सम्पर्क भएन। २५ गते बिहान फोन गर्दा पनि फोन लागेन।’

खोजीका क्रममा छोरालाई गोली लागेको खबर पाएको उनले बताए। उनी सिभिल अस्पतालको बेडमा छोरालाई खोज्न गए। उनले छोरालाई भेटाए तर शवका रूपमा। २५ गते बेलुका छोराको एक साथीले फोन अविषेकलाई बाइकमा हिँडिरहेका बेला गोली लागेर सिभिल अस्पताल लगेको भिडियो देखेको बताइन्। सुरुमा त उनलाई पत्यारै लागेन। पत्यार नलागे पनि उनी अस्पताल पुगें। उनलाई थाहा भयो। छोराको गोली लागेर घटनास्थलमै मृत्यु भएको रहेछ। कामबाट फर्कंदै गरेको छोराको प्रहरीको गोली लागेर मृत्यु भएपछि आफूले प्रहरी सेवा छाडेको दिनेशले बताए।

दिनेश सहिद परिवारको संयुक्त १५ बुँदे माग सरकारले छिटै सम्बोधन गर्नुपर्नेमा जोड दिन्छन्। जेनजी आन्दोलनमा ज्यान गुमाएका ७६ जनामध्ये ४५ जनालाई राज्यले सहिद घोषणा गरेको छ। सहिद सूचीमा अविषेक पनि छन्। राज्यले सहिद परिवारलाई अरू सुविधा नदिए पनि शिक्षा, स्वास्थ्य र रोजगारी दिनुपर्ने उनले बताए। ‘अहिलेको सरकार जेनजीको रगतले बनेको हो, उनले भने, ‘तर सरकारले जेनजीका माग सुनुवाइ गरिरहेको छैन।’ सरकारले राम्रो काम पनि गरिरहेको छ तर जेनजीको भावनाअनुसार हुन नसकेको उनको विश्लेषण छ।

अविषेक दिनेश चौलागाईं र रीता चौलागाईंका एक्ला छोरा थिए। उनकी एक बहिनी (दीक्षा) छन्। अहिले घरपरिवारमा तीन जना मात्रै छन्। भ्रष्टाचार अन्त्य गरी सुशासनका लागि भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका अविषेक जस्ताको सपना कहिले पूरा हुन्छ भन्ने प्रश्न परिवारजनको छ। व्यवस्थापन विषयमा स्नातक पढ्दै गरेका अविषेकको मृत्युसँगै दिनेशको सहारा ढलेको हो। ‘असाध्यै पीडा हुन्छ, दुःख लाग्छ, मन बेचैन हुन्छ, घर हिँडेको निर्दोष छोरालाई गोली लाग्यो,’ दिनेश भन्छन्। छोराको वियोगले आमाले अहिलेसम्म आफूलाई राम्ररी सम्हाल्न सकेकी छैनन्।

जेनजी आन्दोलनका क्रममा भक्तपुरमा बस्दै आएका योगेन्द्र न्यौपाने (रोशन) पनि सहिद भए। अहिले योगेन्द्रको परिवारका सदस्य भक्तपुर बस्दैनन्। उनीहरू पुर्ख्यौली घर सिन्धुली पुगेका छन्। सानीआमा नाता पर्ने तारा रोक्काका अनुसार योगेन्द्रका बुवा युवराज न्यौपाने र आमा लक्ष्मी न्यौपाने अहिले सिन्धुलीको गोलन्जर गाउँपालिकामा बस्छन्। उनीहरूले योगेन्द्रको सम्झनामा १ रोपनी जग्गामा स्मृति पार्क निर्माण गरेका छन्। यसको उद्घाटन मंगलबार हुने ताराले सुनाइन्। योगेन्द्र जेठो छोरा थिए। योगेन्द्रका पिता युवराज भने सरकारी शिक्षक हुन्। ‘भदौ २२ गते सबै जना २३ गते हुने आन्दोलनमा जानुपर्छ, राजनीतिक बेथिति हटाउनुपर्छ भनेर गाउँमा योगेन्द्रले भनेका थिए,’ ताराले भनिन्, ‘तर अहिले त्यही योगेन्द्र सम्झनामा मात्र बाँकी छ।’

योगेन्द्रलाई २३ गते दिउँसो १ बजे गोली लागेको खबर आफूहरूले पाएको उनले सुनाइन। ‘हेर्न बानेश्वरको अस्पतालमा जाँदा ऊ बितिसकेको थियो,’ एक वर्षपछि उनले सुनाइन्। ताराका अनुसार योगेन्द्र अधिकृत हुन लोकसेवा तयारी गरिरहेका थिए। ‘हामीले हाम्रो छोरा गुमायौँ। अब फेरि कसैको पनि यसरी कोख रित्तिने अवस्था नआयोस्,’ तारा भन्छिन्। उनले सरकारले सहिद परिवारसँग गरेको बाचा भुल्न नहुने बताइन्।

खोसिए मञ्जुका मोहन
सुनसरीको इटहरी उपमहानगरपालिका-१४ की २८ वर्षीया मञ्जु सदाको मानसपटलमा मोहन सदासँग सँगै मर्ने अनि सँगै बाँच्ने कसम खाएको क्षण अझै ताजै छ। त्यतिबेला उनी १८ वर्षकी मात्र थिइन्। त्यो उमेरमा उनले दुःखका दिन कस्ता हुन्छन् भन्ने बुझेकै थिइनन्। उनलाई यति मात्रै थाहा थियो- मोहनले असाध्यै माया गर्छन्, ख्याल राख्छन् र जीवनभरि साथ दिन्छन्।

हाल सुनसरीकै रामधुनी नगरपालिका-६ इचोलकी मञ्जुले कक्षा ७ पढ्दै गर्दा काम पनि गर्न थालेकी थिइन्। इटहरी-१४ का मोहन मञ्जुलाई काम लाउने मिस्त्री थिए। मोहन त्यतिबेला ३० वर्षका थिए। कामको सिलसिलामा भएको भेट आत्मीयतामा बदलियो। मोहन मञ्जुको खुब ख्याल राख्थे। उनीहरूबिच माया बस्यो। त्यही मायालाई विवाहमा परिणत गर्न जात बाधक बन्यो। चौधरी समुदायकी थिइन् मञ्जु। सदाको तुलनामा चौधरी माथिल्लो जात मानिन्थ्यो। परिवारको स्वीकृतिमा विवाह सम्भव नदेखेपछि मञ्जु र मोहनले भागी विवाह गरे।

उनीहरूले मन्दिरमा गई एक अर्कालाई जीवनभर साथ दिने वाचा गरे। त्यसको एक महिनापछि मञ्जुलाई माइती पक्षले बोलाएर टिकोटालो गरिदियो। पतिपत्नी दुःख गर्थे, कमाउँथे। परिवारमा आनन्द थियो। उनीहरू कुश अभिभावकत्व निर्वाह गर्दै दुई छोरी हुर्काइरहेका थिए। गत वर्ष भदौ २३ गते जेनजी आन्दोलन हेर्न गएका मोहन प्रहरीको गोली लागेर ढले। मोहन त नफर्किने बाटोमा गए तर मञ्जुलाई भने जीवनभरि निको नहुने घाउ लाग्यो। भावुक हुँदै मञ्जु भन्छिन्, ‘श्रीमान्को अल्पायुमै निधन हुँदा साह्रै गाह्रो भएको छ। काल गतिले मृत्यु भएको भए चित्त बुझाउने सकिन्थ्यो।’

मञ्जुका दुई छोरीमध्ये जेठी आरोही आठ वर्षकी भइन् भने कान्छी आकृति ६ वर्षकी। मञ्जुलाई पतिको मृत्युको पीडा एकातिर छ भने अर्कातिर छोरीहरूको भविष्यको चिन्ता। छोरीहरूलाई भोलिको बाटो देखाउने जिम्मेवारी मञ्जु एक्लैको काँधमा आएको छ। तर उनलाई सबैभन्दा ठुलो डर नै छोरीहरूको भविष्यलाई लिएर हुन्छ। ‘छोरीहरूलाई कसरी पढाउने? कसरी हुर्काउने?’ उनी भन्छिन्, ‘यही चिन्ताले मलाई हर्दम सताइरहन्छ। छोरीहरूमा श्रीमान्कै मुहार देख्छु।’ छोरीहरूले बेलाबेलामा बाबु मोहनका बारेमा निकाल्ने प्रसंगले मुटु च्वास्स घोच्ने गरेको मञ्जुले सुनाइन्। ‘जेठी छोरी आरोही आफ्ना बुवाको याद गरिरहन्छिन्,’ मञ्जुले भनिन्।

मोहनलाई भदौ २३ गतेको जेनजी आन्दोलनबारे खासै जानकारी थिएन। गाउँकै श्रवण सरदारसँग बजार गएका थिए। घर बनाउने काम गर्दा खुट्टामा चोट लागेका कारण उनी कोठामै आराम गरिरहेका थिए। मञ्जुसँग एक छिन बजार पनि जाने र चोट लागेको खुट्टा पनि सामुदायिक स्वास्थ्य केन्द्रमा देखाउने भनेर उनी निस्किएका थिए तर आन्दोलनको भुमरीमा परेर सदाका लागि उनी बिलाए। साँझतिर फर्किएका श्रवणले भनेका थिए, ‘मोहन त कता गए कता?’ मञ्जुको मनमा चिसो पस्यो। उनले फोन लगाइन्, ‘स्विच अफ’ भन्यो। आफन्त र गाउँका सबैलाई हारगुहार गरिन् तर सबैले ‘आइहाल्छन् नि’ भन्ने जवाफ मात्रै दिए। बेचैनीमा डुबिरहेकी उनमा बेलुकासम्म मोहन आउने आशा थियो। फेसबुक हेरेर मन बहलाइरहँदा गोली लागेर ढलेका पति मोहनको भिडियो देखिन् र उनी बेहोस भएर ढलिन्।

आफन्त आएर उनलाई सम्हाले। होसमा आएपछि गाउँका सबै जना मोहनको खोजीमा लागे। उनको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको सूचना प्राप्त भयो। शव केही दिन अस्पतालमै राखियो। इटहरीका अगुवा नागरिकहरूको सहयोगमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर छैटौँ दिन बुढीगंगा मुक्तिघाटमा लगेर मोहनको दाहसंस्कार गरियो। दाहसंस्कारमा राष्ट्रिय झन्डासहित भेला भएका जेनजीहरूले आफूहरूको आन्दोलनका कारण प्राप्त परिवर्तनको बलमा देशमा शान्ति र समृद्धि हुनुपर्ने कामना पनि गरेका थिए। शान्ति र समृद्धिको कामना पूरा भयो या भएन तर मञ्जु भने भने छोरीहरूको भविष्य कसरी सुनौलो बनाउने भन्ने चिन्तामा छिन्।

त्यसो त छोरीहरूकै सपना पूरा गर्न मञ्जु पतिको निधन हुनुभन्दा एक वर्षअघि कुवेतमा थिइन्। फेरि पनि उनी कुवेत नै जाने योजनामा थिइन्। तर अकल्पनीय घटनाले गर्दा उता जाने योजना छाडेर छोरीहरूको हेरचाहमा समर्पित भएकी छिन्। उनले विदेशबाट कमाएको र मोहनले मिस्त्री भएर जोहो गरेको पैसाले ऐलानी जग्गामा एउटा सामान्य घर बनाएकी छन्।

‘मेरा श्रीमान्ले देशका लागि ज्यान दिएपछि छोरीहरूलाई बचाउन सानोतिनो काम देऊ भनेर हारगुहार गर्दा पनि आवाज सुनिएको छैन,’ मञ्जुले भनिन्, ‘सरकारले हाम्रो आवाज नसुने सबै पीडित मिलेर आन्दोलन चर्काउने योजनामा छौँ।’ उनका अनुसार अहिले देश विपत्तिमा परेकाले आन्दोलन गर्ने वातावरण छैन। ‘माग पूरा नभए आन्दोलन चर्काइन्छ,’ उनले भनिन्, ‘क्षमताअनुसारको जागिर दिलाइदिए छोरीहरूको लालन पालन गर्न सहज हुन्थ्यो।’

उनलाई संघीय सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ। गृह मन्त्रालयमार्फत क्षतिपूर्तिबापत १० लाख र काजक्रिया तथा अन्य खर्चका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराइएको थियो। उक्त रकमबाट उनले १० धुर जग्गा जोडेकी छिन्। ‘माटोमा लगानी गरेको खेर जाँदैन र पछि भविष्यमा छोरीहरूको पढाइ खर्च गर्न सहज हुन्छ भनेर जग्गा किनेको हुँ,’ उनले भनिन्। सरकारले दिएको पैसा काजक्रिया खर्च गरेर बचेको सबै पैसा छोरीहरूको भविष्यका लागि बचत गरेर राखेको उनले बताइन्। उनका अनुसार विदेशका साथै इटहरी क्षेत्रबाट थुप्रैले थोरबहुत सहयोग गरे। छोरीहरूलाई दाताकै सहयोगमा इटहरीकै स्थानीय बोर्डिङ स्कुलमा पढाइरहेकी छन्।

अविषेकको विदेश सपना अधुरै
जेनजी आन्दोलनको पहिलो दिन इटहरीमा मोहनको मात्र होइन, अर्का एक किशोरको पनि निधन भएको थियो। प्रहरीको गोली लागेर मृत्यु भएका ती किशोर इनरुवा नगरपालिका-६ घर भई इटहरीस्थित आफन्तको घरमा बस्दै आएका १६ वर्षीय अविषेक श्रेष्ठ हुन्। ती दुई जनाको ज्यान गएको भोलिपल्ट सुनसरीका विभिन्न सरकारी कार्यालयसँगै निर्वाचित जनप्रतिनिधिका घरमा आगजनी र तोडफोड भएको थियो। सुनसरीका सरकारी निकायको मात्रै एक अर्ब १७ करोडभन्दा बढीको क्षति भएको थियो। निजी क्षेत्रको क्षतिको त यकिन विवरण नै छैन। आगजनी र तोडफोड भएका सरकारी कार्यालयमध्ये सबैभन्दा बढी इटहरी क्षेत्रमै थिए।

त्यसो त अविषेक श्रेष्ठको हातमा साउदी अरब जाने पासपोर्ट आइसकेको थियो। केही समयमै उनी विदेश जाने तयारीमा थिए। परिवारले पनि छोराको विदेश यात्रासँगै आर्थिक अवस्था केही सहज हुने आशा गरेको थियो। अविषेक इटहरीमा पहिला इटहरीको बर्गर हाउस फोटो सेन्टरमा काम गर्दाखेरि रोकिएको पैसा उठाउने सुरमा थिए। त्यही बाँकी पैसा लिन उनी इटहरी पुगेका बेला उनी जेनजी आन्दोलनमा मिसिए र त्यही दिन उनको शरीर सदाका लागि ढल्यो।

छोरा आन्दोलनमा गएको कुरा परिवारका सदस्य कसैलाई थाहा भएन। राति अचानक इटहरी घर भएका ठुलो बुबा टीका श्रेष्ठमार्फत अविषेकको मृत्युको खबर आयो। अविषेककी ४२ वर्षीया आमा सुस्माले भनिन्, ‘छोराको मृत्युको खबर सुनेर म बेहोस भइहालेँ।’ त्यो घटनाका बेला उनका पति झगडबहादुर श्रेष्ठ कतारमा थिए। छोराको अकल्पनीय मृत्युपछि उनी घर फर्किए। अविषेक विदेश गएपछि बाबुको घर फर्कने योजना थियो। तर विदेश जाने तयारीमा रहेको छोराको मृत्युको खबरले बाबुले घर फर्कनुपर्‍यो। अविषेकको मृत्युले यतिबेला उनको परिवारमा अधुरो सपना सम्झना मात्र बनेको छ। 

वर्ष दिन बितिसक्दा पनि सुस्माको मनमा कैयौं प्रश्न छन्। ‘सरकार हाम्रा माग पूरा गर्न गम्भीर देखिएको छैन,’ सुस्माले भनिन्। उनका अनुसार पीडित परिवारको आवाजलाई सरकारले बेवास्ता गरे आन्दोलनको बाटो रोज्ने गरी छलफलसमेत अघि बढिरहेको छ। छोरा गुमेपछि बाबु झगडबहादुरले रिक्सा चलाएर संघर्ष गरिरहेका छन्। परिवार कसरी चलाउने भन्ने चिन्तामा रहेको श्रेष्ठ परिवारमा अविषेकका भाइ समीरले अहिले तीन महिनादेखि विद्युत् प्राधिकरणमा ज्यालादारीमा काम गरिरहेका छन्।

तर यो काम पनि दिगो हुने/नहुने कुनै टुंगो छैन। समीरको हातमा अहिले सामान्य जागिर भए पनि घरमा अविषेकको अभाव पूरा हुन सक्दैन। ‘अघिल्लो भदौमा छोरा विदेश गएको भए यतिबेला फर्केर विवाह गर्ने बेला हुन्थ्यो,’ सुस्माले भनिन्। उनको मनमा एउटै प्रश्न घुमिरहन्छ, ‘विदेश जान तयार छोरालाई कसरी दशा लागेर आन्दोलनमा जानुपरेको होला?’

प्रकाशित: २३ भाद्र २०८३ ०७:४२ मंगलबार