मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
सोही प्रकरणमा सीआईबीले बुधबारमात्रै दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन्।
त्यसअघि यो प्रकरणमा सीआईबीले अन्य चार जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका-९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका-३ का ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका-४ का ४५ वर्षीय रामपुकार तिवारी छन्।
प्रकाशित: ३ मंसिर २०८३ १६:४४ बिहीबार



