समाजमा कहिलेकाहीँ साना घटनाले पनि ठूलो संदेश दिन्छन् । मानवता, इमानदारी र प्रहरी समुदाय सहकार्य कति महत्त्वपूर्ण छ भन्ने कुरा उजागर गर्ने यस्तै घटना जुम्लाको छ।
जुम्लाको सिंजा गाउँपालिका–५ फुङ्ग गाउँकी ७६ वर्षीया खुम्मेनी रोकाया शुक्रबार अत्यावश्यक काम लिएर जुम्ला बजार आउँदै थिइन्। यात्रा सकिएपछि जब उनले आफ्नो झोलामा रकम हेरिन एकाएक अनुहार उदासियो । आफूसँग भएको पैसा छैन । आफूसँग भएको ४२ हजार ९ सय रुपैयाँ हराएछ ।
उमेर, थकान र हराएको पैसाको चिन्ताले उनी हतास बनिन्। तुरुन्तै जिल्ला प्रहरी कार्यालय, जुम्ला पुगिन् र सहायता मागिन्। निवेदनलाई प्रहरी टोलीले सामान्य हराएको रकमको रूपमा होइन, नागरिकको हितसँग जोडिएको संवेदनशील विषयका रूपमा लिएर विशेष प्राथमिकता दियो।
प्रहरीले तत्कालै यात्रामा प्रयोग भएका सवारी साधनको जानकारी सङ्कलन गर्यो। गाडीको भित्री जाँच, सम्भावित व्यक्तिसँग सोधपुछ, बजार क्षेत्रमा प्राप्त वस्तुसम्बन्धी सूचनाको क्रस–चेकलगायतका गतिविधि एकैसाथ अघि बढाइयो। स्थानीयबासीको सहयोग पनि मिसिएपछि खोजतलास झन् प्रभावकारी बन्यो।
केही घण्टाको प्रयासपछि रकम सुरक्षित अवस्थामा फेला पर्यो । सो रकम आज (शनिबार) दिउँसो ३:५० बजे जिल्ला प्रहरी कार्यालयमै रोकायालाई औपचारिक रूपमा हस्तान्तरण गरियो। रकम बुझ्दा रोकाया भावुक भइन् । लामो श्वास तान्दै उनले भनिन्, ‘म त जीवनभरकै काम बिग्रेलाजस्तो लागेको थियो। प्रहरी र सबै सहयोगीप्रति म जीवनभर ऋणी हुनेछु। प्रहरी भनेको डर लाग्ने होइन, भरोसा गर्न सकिने संस्था रहेछ।’
उपस्थित स्थानीयले पनि प्रहरीको मानवतापूर्ण सेवा, निष्पक्षता र सक्रियताप्रति खुलेर प्रशंसा गरे । घटनाबारे जिल्ला प्रहरी कार्यालय, जुम्लाले प्रहरी समाजकै हिस्सा रहेको उल्लेख गर्दै नागरिकको समस्या बुझेर समाधान गर्नु प्रहरीको दायित्व भएको उल्लेख गरेको छ ।
यो घटनाले एक वृद्ध आमाको गुमेको सम्पत्ति सुरक्षित मात्र गरे समाजमा इमानदारी अझै जीवित छ । प्रहरी नागरिककै सहारा बन्ने संस्थाका रूपमा स्थापित भइरहेको सन्देश दिएको छ ।
प्रकाशित: २९ कार्तिक २०८२ २१:२८ शनिबार



