समाज

देशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध, यात्रा गर्नुअघि जानकारी लिन प्रहरीको आग्रह

देशभर निरन्तर परेको वर्षा र पहिरोका कारण काभ्रेपलाञ्चोक, सिन्धुली, इलाम, सिन्धुपाल्चोक, दोलखा, रसुवा, ललितपुर, रोल्पा र लमजुङ लगायतका जिल्लाहरूमा मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। 

नेपाल प्रहरीले दिएको बिहान ८:४० बजे सम्मको विवरण अनुसार बाढी, पहिरो र हिलोका कारण विभिन्न स्थानमा यातायात सेवा प्रभावित बनेको छ।

विवरण अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै उक्त खण्डमा बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारी आवतजावत बन्द गरिएको छ भने बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म मात्र सवारी खुला हुनेछन्। 

त्यस्तै मकावानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ। इलामको राजदुवालीस्थित मेची राजमार्गमा बाटो हिलो भएपछि सवारी साधन चल्न सकेका छैनन् र सडक पूर्ण रूपमा बन्द छ। 

सिन्धुपाल्चोकका भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ। दोलखाको किर्नेटारमा तामकोशी खोलाको कटानले लामासाघु-रामेछाप राजमार्ग बन्द भए पनि वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको छ।

यसैगरी रसुवाको खाल्टेस्थित कच्ची सडक त्रिशुली नदीले कटान गरेको छ भने ललितपुरको पाङदुर र रोल्पाको खोलावाङमा सुक्खा पहिरो गएका कारण कान्तिलोकपथ र घोराही थवाङ शहिद राजमार्ग अवरुद्ध भएका छन्। 

लमजुङको श्रीचौरमा पहिरो खस्दा बेसीशहर-च्यामे मनाङ सडक खण्ड पनि पूर्ण रूपमा बन्द भएको छ। प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राखेर यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ।

 

प्रकाशित: १३ श्रावण २०८३ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App