समाज

पर्यटक आकर्षित गर्दै माई नगर

इलामको माई नगरपालिका पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ। तराईदेखि चुरेसम्मको मनोरम संगमझैं देखिने माई नगरपालिका जैविक विविधता, ऐतिहासिक चियाबारी, सुखानीलगायत क्षेत्रले पर्यटकीय आकर्षण बन्दैछ। 

यहाँका सोक्तिम र चिलिमकोट चिया बगान, ऐतिहासिक चिया उद्योग, तेह्रकुने पोखरी, मैनाचुली, गिटीडाँडा, झन्डीडाँडा र छुरेजस्ता अर्गानिक पर्यटकीयस्थलले पर्यटक लोभ्याइरहेका छन्। किराँत हाङसाम वोरक, फागुनन्द हाङसाम्मा माङहिम, बौद्धगुम्बा र मठमन्दिर पनि पर्यटकीय केन्द्र बनिरहेका छन्। नमुना सामुदायिक वनको पर्या-पर्यटन क्षेत्रले पनि पर्यटक आकर्षित गरिरहेको छ। 

माई नगरपालिका साविकका दानबारी, चिसापानी, महमाई गाविस र लक्ष्मीपुरको वडा ५ मिलाएर बनाइएको इलामकै कान्छो नगरपालिकाको हो। १९२२ सालमा चिया खेती गरिएको सोक्तिम चिया बगान र १९४० सालमा यही चियाबारीभित्र बनाइएको नेपालकै जेठो उद्योगमध्येको सोक्तिम चिया कारखाना पर्यटकीय छन्। बुढीसुखानीदेखि बेलासेसम्म १९ किलोमिटर तन्किएको केचना-कन्चनजंघा मार्ग र सुखानीबाट नगरको केन्द्र सितलीलाई चिर्दै चन्डालघाट तरेर चुलाचुली प्रवेश गरेको २५ किलोमिटरको मदन भण्डारी राजमार्ग नगरबासीको आशा बनिरहेका छन्। 

माई नगरका मेयर खम्बासिंह लिम्बू पछिल्लो समय नगरले पर्यटकीय पूर्वाधारमा लगानी बढाएको बताउँछन्। ‘माई नगरमा पर्यटक आकर्षित गर्न धेरै क्षेत्रहरू छन्,’ उनले भने, ‘तर पूर्वाधार विकासमा स्थानीय सरकारको लगानी मात्रै पर्याप्त हुँदैन, प्रदेश र केन्द्रमा पनि पहल भइरहेको छ।’
वडा १ र ६ बिचमा पर्ने ८२० मिटर लामो झोलुङ्गे पुल पनि पर्यटकका लागि आकर्षण बन्ने गरेको छ। झापाबाट नजिकै पर्ने भएर पनि माई नगरमा विशेषगरी हरियाली सिजनमा पर्यटक धेरै आउँछन्। यतिबेला गर्मी मौसम भएकाले पनि माईका शीतल ठाउँमा झापाका पर्यटक आउने गरेको देखिएको छ। 

वडा नम्बर २ मुख्य पर्यटकीयस्थलका रूपमा निजी क्षेत्रबाट विकास गरिएको चेप्टी फनपार्क चाहिँ पोहोर असोज १८ र १९ को बाढी र डुबानले क्षतिग्रस्त भएको छ। वरपरको प्राकृतिक वातावरणमा रमाउँदै मनोरम कृत्रिम ठाउँको आनन्द लिन टाढा-टाढाबाट मानिस आउने गरेका छन्। नजिकै रहेको धार्मिक तथा पर्यटकीय शिवपोखरी पनि पर्यटक अल्झाउने गन्तव्य बनिरहेको छ। वडा १ को तेह्रकुने सिमसार महत्वपूर्ण पर्यटकीयस्थल हो । वरिपरि शान्त वनजंगलले घेरिएको सफा देखिने पोखरीमा शीतल आनन्द लिन तराईतिरका पर्यटक बढी आकर्षित भइरहेका छन्।

माई नगरको केन्द्र शीतलीबाट करिब १३ किलोमिटरमा रहेको तेह्रकुनेमा अहिले गाडी चढेर र पैदल पनि पुग्न सकिन्छ। स्थानीय घरहरूमा होमस्टे व्यवस्थापन गर्नसके तेह्रकुने पोखरीले बर्सेनि हजारौं पर्यटक भित्र्याउने सम्भावना आँखाअगाडि देखिन्छ। स्थानीय, व्यवसायी र सरकारको समन्वयमा तेह्रकुनेको विकास र प्रचार गर्न सक्दा यो पोखरी विशेषगरी गर्मी ठाउँका आगन्तुकको एक मुख्य गन्तव्य बन्नसक्ने सम्भावना प्रचुर देखिएको मेयर लिम्बू बताउँछन् । 

माई नगरपालिका वडा ४ मा रहेको सुखानीलाई पनि पर्यटकीय क्षेत्रकै रूपमा विकास गरिएको छ। २०२९ साल फागुन २१ गते तत्कालीन राजनीतिक आन्दोलनक्रममा कम्युनिस्टका पाँच योद्धालाई गोली हानेर मारिएको यो ठाउँ हेर्न पर्यटक आउने गरेका छन्। झापाबाट इलाममा जेल सार्नेक्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशी गरी पाँच जनाको हत्या गरिएको स्थान वरपर पार्कसमेत बनाइएपछि पर्यटकको संख्या थपिएको छ। 

पूर्वेझोडा यहाँको अर्काे पर्यटकीय आकर्षणको केन्द्र हो। वडा नम्बर २ मा पर्ने पूर्वेझोडा डाँडामा पछिल्लो समय धेरै संख्याका पर्यटक आकर्षित हुन थालेपछि समुदायस्तरबाट होमस्टे व्यवस्थापनसमेत गरिएको छ। झापाको सुरुंगाबाट तीन किलोमिटरमा पुग्न सकिने यो ठाउँ विभिन्न हिमशृंखला दृश्यावलोकनका लागि प्रसिद्ध छ। ‘तराईबाट मात्र नभई भारतबाटसमेत नजिक पर्ने भएकाले माई नगरपालिका पर्यटकीय सम्भावना रहेको ठाउँ हो’, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराईले भने, ‘नगरले विभिन्न ठाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने नीति र कार्यक्रम ल्याएको छ।’

माई- ८ मा पर्ने मैनाचुली अर्को पर्यटकीयस्थल हो। झापा शिवसताक्षीबाट तीन किलोमिटरमै रहेको मैनाचुलीमा पर्यटक लोभ्याउने आकर्षक पोखरी छ। वरपरको दृश्यले मोहित बनाउने मैनाचुलीको सौन्दर्यसँग रमाउन पर्यटकको चहलपहल बढिरहेको छ। राष्ट्रिय विभूति फाल्गुनन्दको तपस्यास्थल फुलुंगी-खत्रक्पा, माई १ को ऐतिहासिकस्थल तारेभिर, वडा ४ का गिटीडाँडा र झन्डीडाँडा तथा वडा ५ को छुरेलगायत विभिन्न पर्यटकीयस्थलबाट माई नगरपालिकाले प्रसस्त लाभ लिनसक्ने आधार देखिएका छन्। 

प्रकाशित: २६ श्रावण २०८३ ०८:५४ मंगलबार