दैलेखको दुल्लु नगरपालिका–५ डाडाखोला पाथरनाउली नजिक निजी जमिनमा थापिएको पासोमा परेर एउटा चितुवा मरेको छ । बँदेल नियन्त्रण गर्न थापिएको पासोमा परेर चितुवा मरेको स्थानीयले बताएका छन् ।
स्थानीयवासीका अनुसार लामो समयदेखि बँदेलको आतंक बढेपछि बाली जोगाउन पासो थाप्ने गरिएको छ । राति–राति बँदेल आएर तरकारीदेखि अन्य अन्न बाली नष्ट गर्न थालेपछि स्थानीयले पासो थापेका हुन् ।
बँदेलको झुन्ड आएर बाली नष्ट गरेपछि थापिएको पासोमा चितुवा परेर मर्नु दुःखद भएको स्थानीय किसानले बताए ।
घटनाको जानकारी पाएपछि मृत चितुवालाई डिभिजन वन कार्यालय दैलेख पुर्याइएको छ । यसअघि पनि दुल्लु नगरपालिकाबाटै पासोमा परेको चितुवालाई जिउँदै उद्धार गरिएको थियो ।
स्थानीय अगुवाहरूले बँदेलको आतंक र वन्यजन्तु संरक्षणबीच सन्तुलन चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।
प्रकाशित: १६ पुस २०८२ १६:२५ बुधबार



