जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदीबन्दी असोज २० गतेभित्र नफर्किए कानुन बमोजिम कारबाही गरिने सूचना जारी गरिएको छ ।
कारागारबाट बाहिरिएका कैदीबन्दीमध्ये अझैसम्म ८०७ जना बाहिरै रहेका छन् । बाहिर रहेका कैदीबन्दी असोज २० गतेसम्म नफर्किए कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्लास्तरीय कार्यदलका संयोजक लोकमान श्रेष्ठ सूचना जारी गरि जनाएका छन् ।
भदौं २४ गते राति कारागारबाट एक हजार ७९६ जना कैदीबन्दी बाहिरिएका थिए । बाहिरिएकामध्ये ९८९ जना धेरैजसो आफै आएका र केहीलाई पक्राउ गरेर ल्याइएको थियो । कारागार प्रशासनका राम निरौलाका अनुसार यसअघि पनि कारागार प्रशासनले कैदीबन्दीलाई फर्कन आह्वान गरेकोमा अझै धेरै बाहिरै रहेकाले गर्दा केन्द्रको सकुर्लर अनुसार नै जिल्लास्तरीय कार्यदल बनेर काम थालेको हो ।
कार्यदल सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठको संयोजकत्वमा नेपाल प्रहरीका डिएसप योगराज खतिवडा, सशस्त्र प्रहरीका डिएसपी मात्रिका पौडेल, राष्ट्रिय अनुसन्धानबाट सविना खनाल, जिल्ला सरकारी वकिल कार्यालयबाट रोहित पोखरेल र झुम्का कारागारका जेल प्रशसनका प्रमुख सुभाष लामिछाने रहेका छन् ।
जेन जी पुस्ताले थालेको आन्दोलनका क्रममा आन्दोलनकारी कारागार पुगेर ब्लक ‘बी’ का कैदीलाई निकाल्नुपर्ने माग राखेपछि उनीहरु निस्किएको थियो । त्यसपछि क्रमश ब्लक ‘ए’ का पनि कैदीबन्दी निस्किएर हिडेका थिए ।
कैदीबन्दी बाहिरिन थालेपछि जेल प्रशासनले सेनालाई खबर गरेता पनि समयमै नपुगेकाले गर्दा प्रायः अधिकतर कैदीबन्दी बाहिरिएका थिए । झुम्का कारागारको ‘ए’ र ‘बी’ कारागारबाट भागेर आएका र जेन जी आन्दोलनपछि विभिन्न मुद्दा फैसला भएर सजाय तोकेर थपिएका गरि १ हजार २२ जना कैदीबन्दी रहेका छन् ।
प्रकाशित: १३ आश्विन २०८२ २२:०७ सोमबार