समाज

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा चैत १२ गते

काठमाडौं महानगरपालिका यस वर्षको जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) जात्रा सञ्चालनका लागि जुटेको छ। 

कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा आज बसेको बैठकमा रथयात्रा मार्ग व्यवस्थापन, धार्मिक, सांस्कृतिक तथा सामाजिक कामको समन्वय, शान्तिसुरक्षा गरिमालगायत विषयमा सम्बन्ध भएका निकायसँग छलफल भएको छ।  

जात्रा कामपाको नौवटा वडा (१, १९, २०, २१, २३, २४, २५, २७ र २८) मा सञ्चालन हुने बैठकमा जानकारी गराइएको छ। छलफलमा कार्यवाहक प्रमुख डङ्गोलले जात्रा सञ्चालनका लागि दिँदै आएको सहयोग रकम रु १० लाखबाट रु २० लाख पुर्याइएको बताइन्। ‘जात्रामा सहभागी श्रद्धालुलाई गरिमामय उत्सवको अनुभूति गराउने दायित्व सबै मिलेर बहन गरौँ’, उनले भनिन्।

‘चुस्त सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा संयन्त्र परिचालन गर्नेछ,’ काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने, ‘जात्राको भव्यता बढाउन स्थानीयदेखि साझेदार सबैसँग समन्वय गर्ने दायित्व कामपाले लिनुपर्छ।’  

जात्रा सञ्चालन हुने मार्गहरूको मर्मतसम्भार तथा सुधार, सरसफाइसहित व्यवस्थापनको काम कामपाले गर्नेछ। कामपाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले भने, ‘जात्रा अवलोकनका लागि सहज वातावरण बनाउने काम गरौँ।’

सेतो मच्छिन्द्रनाथका मूल पुजारी एवं कामपाका पूर्ववडाध्यक्ष नीलकाजी शाक्यले भने, ‘यसको सन्देश विश्वलाई बुझाउनु पर्नेछ। यसलाई अपनत्व गराउने गरी समन्वय गरौँ।’

जनवहाः द्यः जात्रा व्यवस्थापन समितिका संयोजक सुजीव बज्राचार्यका अनुसार यस वर्ष चैत १२ गते केलटोलबाट खट यात्रा सुरु हुनेछ। त्यसै दिन राति १० बजे राष्ट्रपति दर्शनका लागि असन आउनुहुने कार्यक्रम छ। १३ गते साँझ ५ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्याइनेछ।  

यसैगरी, १४ गते साँझ ५ बजे हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्याबहाल हुँदै लगनसम्म पुर्याइन्छ। १५ गते लगनस्थित मच्छिन्द्रनाथकी आमा भएको रूखको परिक्रमा गराइन्छ। त्यसको भोलिपल्ट चैत १६ गते रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्याइन्छ।  

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ। काठमाडौंको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ। 

प्रकाशित: ९ चैत्र २०८२ १४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App