कैलाली कारागारमा भएको कैदी बन्दी झडप प्रकरणलाई गृह मन्त्रालयले परिस्थितिलाई सहज बनाउन गम्भीरतापूर्वक काम गरिरहेको जनाएको छ। घटनालाई मन्त्रालयले सूक्ष्म ढंगले हेरिरहेको गृहमन्त्री रमेश लेखकको सचिवालयले बतायो।
कैलाली कारागारमा शुक्रबार राति कैदी बन्दीबिच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएका थिए। घटनापछि शनिबार गृहमन्त्री लेखकले गृह सचिवसहित तीन वटै सुरक्षा निकायका प्रमुखसँग घटनाको अवस्थाको जानकारी लिएका थिए। यस्तै घटनाको समग्र अवस्थाबारे जानकारी लिनुका साथै परिस्थिति सहज बनाउने विषयमा छलफल गरेको सचिवालयले जनाएको छ।
छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ। त्यसका लागि गृह मन्त्रालयले सुर्खेतमा रहेको नेपाली सेनाको स्काई ट्रक धनगढी पठाइसकेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
‘कारागारको पूर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन्,’ प्रवक्ता काफ्लेले भने, ‘झडपमा परी घाइते भएका अन्य घाइतेहरूको उपचारको प्रबन्ध मिलाइएको छ ।’
प्रकाशित: २४ श्रावण २०८२ १९:३४ शनिबार