गत सोमबारदेखि परेको वर्षाले जुम्लाका किसानको महिनौंको मेहनतमा क्षति पुर्याएको छ ।
काटेर सुकाउने तयारीको धान खेतमै भिजेपछि किसान चिन्तित छन्। निरन्तर वर्षाले खेत पोखरीजस्ता बनेका छन् । जुम्लाको चन्दननाथ–८ तलिउम गाउँकी किसान मनु परियारले पीडासहितको श्वरमा भनिन्, ‘छ महिनाको पसिना एकछिनमै बगायो। एघार घरपरिवार छौं, ६ भारी सबै धान सखाप भयो। अब कसरी पालिने ?’

मनुजस्तै कोटिला गाउँकी सत्यदेवी बोहोराको पनि छ। ‘काटेको धान खेतमै भिजिरहेको छ। न दाना खान मिल्ने देखिन्छ, न पराल काम लाग्ने,’ उनले भनिन् ।
वर्षाले लगानी र मेहनत दुवै खेर गएपछि किसानहरू निराश छन्। भिजेको धान सुकाउन हम्मे परेको छ। कतिले पालले छोपेर राखेका छन् । कतिले डाँठसहित घरमा ल्याएका छन् । कतिले खेतमै थुपारेका छन्। तर निरन्तर वर्षाले धान अझ भिज्दै गएको छ।

‘१२ भारी धान डुब्यो, परिवार पाल्नै गाह्रो हुने भयो,’ नगरपालिका -८ स्यालबाडा गाउँकी कुईरी रोकायाले भनिन् । ‘मेरो १२ भारी धान खेतमै डुब्यो। नौ जनाको परिवार पाल्न गाह्रो भएको छ। अहिले भिजेको धान ओबानो ठाउँमा लगेर सुकाउने प्रयास गर्दैछौं, तर बीउका रूपमा प्रयोग गर्न मिल्ला कि मिल्दैन भन्ने डर छ,’ उनले भनिन् ।

कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार,जुम्लामा करिब २ हजार ८ सय ९० हेक्टरमा धान रोपिएको थियो। त्यस मध्ये करिब २० प्रतिशत धान अहिले वर्षाको पानीले भिजेको छ। उनका अनुसार जुम्लाको तातोपानी, हिमा गाउँपालिका, र चन्दननाथ नगरपालिकाका केही वडाका किसानले अझै धान भित्र्याउन सकेका छैनन्। चन्दननाथको गैरागाउँ, पिपलगाउँ र जातिभिड, तातोपानीको राँका, बाइराँका, लाछु जिउला, डाँगीबाडा, र हिमा गाउँपालिकाको दयारगाउँ तथा मोफ्लाका किसान अझै खेतमै धान सुकाउने प्रयासमा छन्।

कृषि कार्यालयका अनुसार दुई चार दिनभित्र राम्रोसँग वर्षा राकिएन् भने धानका बाला कुहिने, दाना उम्रिने र चामलमा कनिका बढ्ने सम्भावना हुन्छ ।
जुम्लाका किसानको मुख्य अन्नबाली धान हो। यहाँ कालीमार्सी, लेकाली–१, लेकाली–३, चन्दननाथ–१ र चन्दननाथ–३ जातका धान रोपिँदै आएको छ। यसपालिको वर्षाले यी जातका धानमा समेत ठूलो क्षति पुर्याएको छ।


प्रकाशित: १४ कार्तिक २०८२ २१:५२ शुक्रबार

-600x400.jpg)

-600x400.jpg)