रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। सोमबार दिउँसो १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको थियो।
जीप आठबिसकोट नगरपालिका-४ का २५ वर्षीय प्रदिप विकले चलाएका थिए। दुर्घटनामा आठबिसकोट नगरपालिका-५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा १३ जना घाइते भएका छन्। गम्भीर घाइते हुनेमा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, ८ वर्षीय युवराज थापा र ४ वर्षीया विरता थापा रहेका छन्।
त्यस्तै, मध्यम अवस्थाका घाइतेमा २५ वर्षीया हिरा थापा र २ वर्षीय गौरव थापा छन्।
सामान्य घाइते हुनेमा २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी रहेका छन्।
घाइतेमध्ये सामान्य र मध्यम अवस्थाका ६ जनालाई दिउँसो १:२० बजे उपचारका लागि नगर अस्पताल राडी पठाइएको छ। अन्य घाइतेलाई पनि उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको नेतृत्वमा चार जना र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईँको नेतृत्वमा सात जना प्रहरी खटिएका छन्।
दुर्घटनापछि जीप चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको जीप भने घटनास्थलमै रहेको छ।
प्रकाशित: २३ कार्तिक २०८३ १५:३० सोमबार



