समाज

प्रधानमन्त्री शाहको भ्रमणअघि भारतको ‘सरप्राइज’, नयाँ रेल रुटलाई अनुमति

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नेपालका लागि नयाँ रेल रुट सञ्चालन गर्न अनुमति दिएको छ।

भारतको रेल मन्त्रालयले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबिच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

करिब ६०४ किलोमिटर लामो यो रेलमार्गले जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ। यसले नेपाल र भारतबिचको रेल सम्पर्क विस्तार गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा मानिन्छ। रामायण परम्परासँग जोडिएका यी दुई धार्मिक सहर रेलमार्गले जोडिएपछि दुवै देशका तीर्थयात्री र पर्यटकलाई आवतजावत गर्न सहज हुनेछ।

रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै यात्रा गर्नेछ। जनकपुरधाम र अयोध्या क्यान्टबाहेक जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा यात्रु चढाउने तथा ओराल्ने व्यवस्था हुनेछ।

भारतीय रेलवेका अनुसार यो रेल सातामा एकपटक सञ्चालन हुनेछ। शनिबार जनकपुरधामबाट र सोमबार अयोध्या क्यान्टबाट रेल छुट्नेछ।

नयाँ रेल सेवाले धार्मिक यात्रासँगै शिक्षा, व्यापार र पारिवारिक कामका लागि नेपाल–भारत आवतजावत गर्ने यात्रुलाई पनि सुविधा पुग्ने अपेक्षा गरिएको छ। यसले रामायणसँग सम्बन्धित पर्यटन सर्किट विस्तार गर्नुका साथै सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग गर्नेछ।

रेलमार्ग आसपासका होटल, पर्यटन व्यवसायी, स्थानीय व्यापारी तथा परम्परागत हस्तकलाका कारीगरले पनि यसबाट लाभ लिन सक्नेछन्। विशेषगरी नेपाल र बिहारको सीमावर्ती क्षेत्रका बासिन्दाका लागि यो रेल सेवा यात्राको थप विकल्प बन्नेछ।

भारत र नेपालबिचको सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्धलाई थप बलियो बनाउन पनि यो रेल सेवाले सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २९ कार्तिक २०८३ १०:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App