समाज

वैदेशिक रोजगारीमा जेन-जी आन्दोलनको असर: साउदी बन्यो प्रमुख गन्तव्य

बिदेसिने झापाका धेरै

जेनजी आन्दोलनपछिको कूटनीतिक तथा श्रम नीति परिवर्तनले वैदेशिक रोजगारीको गन्तव्यमा उल्लेख्य असर पारेको छ । पछिल्ला तथ्यांकअनुसार संयुक्त अरब इमिरेट्स (युएई) ले भिसा मापदण्ड कडा बनाएपछि त्यहाँ जाने नेपाली श्रमिकको संख्या घटेको छ । साउदी अरेबिया जानेहरूको संख्या भने बढ्दै गएको देखिन्छ । 

श्रम स्वीकृतिका पछिल्ला महिनाहरूको तुलना गर्दा युएईका लागि वर्क भिसा अनुमतिमा विशेष गिरावट आएकाले अन्य देश जाने नेपालीको संख्या बढेको देखिन्छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनामा श्रम स्वीकृति लिएर सबैभन्दा बढी कात्तिकमा बिदेसिएका छन् । त्यसमा साउदी अरेबिया जानेको संख्या उकालो लागेको छ । कात्तिकमा ७३ हजार ९४ जना श्रम स्वीकृति लिएर बिदेसिएका छन् । त्यसमा १५ हजार सात सय ६९ जना नेपाली मात्रै साउदी अरेबिया र १३ हजारले युएईका लागि श्रम स्वीकृति लिएको तथ्यांक छ । युएई जाने नेपाली श्रमिकको तथ्यांक घट्दो छ भने साउदी जानेको संख्या बढ्दो छ ।

यसैबिच स्थानीय रोजगार, निर्माण तथा सेवा क्षेत्रको उच्च मागका कारण साउदी अरेबिया नेपाली श्रमिकका लागि वैकल्पिक र प्राथमिक गन्तव्य बन्न थालेको अधिकारीहरू बताउँछन् । विभागका सूचना अधिकारी टीकाराम ढकालका अनुसार युएई र मलेसिया बन्द भएपछि साउदीतिर नेपालीहरू मोडिएका हुन् । कतार, कुवेत, बहराइन र ओमानभन्दा ठुलो देश साउदी हो । त्यहाँ विदेशी कामदारको आवश्यकता परेपछि नेपाली श्रमिकले त्यतैतिर ध्यान दिएका हुन् । भिसा प्रक्रियामा देखिएको सहजता, रोजगारीको स्थिरता र भुक्तानीमा आएको सुधारले पनि धेरै नेपालीलाई साउदी रोजगारी रोज्न प्रेरित गरेको ढकालले बताए ।

‘युएईतर्फ जाने नेपालीको संख्या अहिले घटेको छ भने साउदीतर्फ जानेको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘सरकारले भने दुवै देशसँग कूटनीतिक तहमा आवश्यक छानबिन र समन्वय जारी राखेको छ, ताकि श्रमिकले सुरक्षित र अधिकारसम्मत रोजगारी पाउन सकुन् भनेर हो ।’ हालको वैदेशिक रोजगारीको प्रवृत्ति स्पष्ट रूपमा साउदीमै केन्द्रित बन्दै गएको उनले बताए । उनका अनुसार जेनजी आन्दोलन र नेपालको मुख्य चाडपर्व दसैं भएकाले पनि विदेश जाने नेपालीको संख्या असोजमा कम भएर कात्तिकमा बढेको हुन सक्छ । साउन, भदौ र असोजमा भन्दा कात्तिकमा वैदेशिक रोजगारीमा जानेको संख्या बढी भएको हो । जेनजी आन्दोलनअघि वैदेशिक रोजगारीमा जानेको संख्या सधैंझैं उकालो लाग्ने गथ्र्यो । तर भदौमा जति नेपाली युवा श्रम स्वीकृति लिएर बिदेसिएका थिए, त्योभन्दा कम असोजमा बिदेसिएको विभागको तथ्यांकले देखाएको छ । असोजको तुलनामा गत भदौमा चार हजारभन्दा बढीले श्रम स्वीकृति गरेका थिए । तर असोजको तुलनामा कात्तिकमा आठ हजारभन्दा बढीले श्रम स्वीकृति लिएर बिदेसिएका छन् ।

युएई जहिल्यै पहिलो श्रम गन्तव्य मुलुक बन्दै आएको थियो । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको संख्या घटे पनि गत आर्थिक वर्षदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जानेको संख्या बढेसँगै श्रम स्वीकृति लिनेको संख्या बढिरहेको छ तर जेनजी आन्दोलन र मुख्य चाडमा श्रम स्वीकृति लिनेको संख्या घटेको उनले स्वीकार गरे ।  

‘यो जेनजी आन्दोलन र नेपालीको महान् चाड दसैंका कारणले पनि बिदेसिनेको संख्या अघिल्लो महिनाहरूमा घटेको हो,’ उनले भने, ‘युएईले अझै राम्रोसँग भिसा दिएको छैन । अब बिस्तारै भिसा दिन सहज हुन्छ कि ? होइन भने अहिले विदेश जाने सोचबाहेक अरू त्यस्तो केही गरौं भन्ने उद्देश्य नेपालमा नदेखेका धेरै युवा छन् ।’ विशेष चाडपर्व सकिएसँगै बिदेसिनेको संख्या पनि बढेको ढकाल बताउँछन् । विभागको तथ्यांकअनुसार भदौमा ६७ हजार नौ सय ७२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । असोजमा ६४ हजार ६ सय ३४ जना र कात्तिकमा ७३ हजारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवाको हो ।

त्यस्तै साउदी अरेबिया जानेको संख्या जेनजी आन्दोलनपछि उकासिएको छ । साउनमा नौ हजार आठ सय ८५, भदौमा १० हजार दुई सय एक, असोजमा आठ हजार सात सय ९१ र कात्तिकमा १५ हजार सात सय ६९ जनाले श्रम स्वीकृति लिएर साउदी अरेबिया गएको विभागको तथ्यांकले देखाएको छ । यसको अन्तरालमा युएईका लागि जाने नेपालीको संख्या घट्दो क्रममा छ ।  

विदेशमा काम गर्न जान श्रम स्वीकृति लिनुपर्छ । एक पटक वैदेशिक रोजगारीमा गएर फर्केकाले पनि मुलुकमा अल्झिने उपाय नभेटेपछि पुनः विदेशकै बाटो रोज्ने गरेका छन् । जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालीलाई भिसामा कडाइ गरेको छ, जसका कारण प्रमुख श्रम गन्तव्य युएई जानेको संख्या पनि कम देखिएको छ ।

साउनमा २३ हजार आठ सय ३८ जना, भदौमा २५ हजार दुई सय १८ जना, असोजमा १८ हजार चार सय ४६ जना युएईमा वैदेशिक रोजगारीका लागि गएका थिए भने कात्तिकमा १३ हजार तीन सय ९९ मात्र गएका छन् । भदौको तुलनामा असोजमा ६ हजार सात सय ७२ जना र असोजको तुलनामा कात्तिकमा पाँच हजार ४७ जनाले कमी आएको छ । वैदेशिक रोजगारीका लागि युएई जाने नेपालीको संख्यामा कमी आएपछि अन्य देश साउदी अरेबिया, कतार, मलेसिया, ओमान, कुवेतलगायत देश जानेको संख्या भने बढेको छ । वैदेशिक रोजगारीका लागि युएई, कतार र साउदी अरेबियामा नेपालीको आकर्षण बढेको छ तर अन्य देशको तुलनामा मलेसियाको रोजगारी भने निरन्तर ओरालो लागेको देखिन्छ ।

असोजमा सात हजार नौ सय १५ जनाले मात्रै श्रम स्वीकृति गरेको विभागको तथ्यांक छ । भदौ र असोजलाई उछिनेर कात्तिकमा झन्डै १० हजार नेपाली श्रम स्वीकृति लिएर बिदेसिएका छन् । तर मलेसियाको यो संख्या असोजको भन्दा बढी हो ।

‘अवैधानिक तवरले बिदेसिएका नेपालीको गणना विभागको तथ्यांकमा छैन । सबैभन्दा बढी नेपाली जाने देश युएई हो । युएईमा श्रम स्वीकृति नलिएका महिला तथा पुरुषको संख्या छैन । झन् भारतमा अवैध काम गरिरहेका नेपालीको संख्या गणना गर्ने हो भने सबैभन्दा बढी त्यहाँ छन्,’ विभागका सूचना अधिकारी ढकालले नागरिकसँग भने ।

कात्तिकमा बिदेसिने झापाका बढी

यस चालु आर्थिक वर्षको कात्तिकमा वैदेशिक रोजगारीमा जाने जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी झापाका युवा छन् भने कम मनाङ र मुस्ताङका युवा छन् । झापाबाट मात्रै तीन हजार चार सय ९३ जना श्रमिक बिदेसिएका छन् भने मनाङ र मुस्ताङबाट १८/१८ जना मात्रै छन् । यसअघि साउन, भदौ र असोजमा भने धनुषा नै पहिलो पंक्तिमा रहेको छ । धनुषाबाट बिदेसिनेको संख्यामा साउनमा तीन हजार तीन सय ४८, भदौमा तीन हजार तीन सय तीन, असोजमा दुई हजार नौ सय ६४ र कात्तिकमा तीन हजार चार सय २१ जनाले विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका क्रममा विभिन्न देश गएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना (साउन, भदौ र असोज) मा मात्रै दुई लाख ७३ हजार आठ सय १० नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

प्रकाशित: ५ मंसिर २०८२ २०:०२ शुक्रबार