इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्ली राज खड्का र लेखा अधिकृत मिलन कुमार भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पुलको रिडिजाइन स्वीकृत गर्न र ठेक्काको भुक्तानी सहज बनाइदिने बहानामा सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले मंगलबार गते विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार गाउँकार्यपालिकाको कार्यालयमा कार्यरत छैठौं तहका इन्जिनियर खड्का र आठौं तहका लेखा अधिकृत भट्टराईले आपसी मिलेमतोमा घुसको योजना बनाएका थिए।
उनीहरूले पुलको डिजाइन, रिडिजाइन, थर्ड पार्टी भेरिफिकेसन तथा निर्माण सम्पन्न भइसकेको ठेक्काको बिल भुक्तानीमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ६ लाख रुपैयाँ रकम माग गरी लिएको अनुसन्धानबाट खुलेको छ।
यसअघि आयोगको टङ्गाल र इटहरी कार्यालयको संयुक्त टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट दुवै जनाको संलग्नता पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार ६ लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
प्रकाशित: २६ श्रावण २०८३ १५:१० मंगलबार



