एकान्तकुनाबाट प्रहरीले ठूलो रकमसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई १ करोड ६७ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौंको बानेश्वर निवासी प्रज्वल रिजाल रहेका छन्।
एकान्तकुनामा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए।
प्रहरीले बरामद रकमको स्रोत तथा पक्राउ परेका व्यक्तिहरूको हुण्डी कारोबारमा संलग्नताबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
अवैध रूपमा रकम ओसारपसार तथा वित्तीय कारोबार भइरहेको आशंकामा प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १ मंसिर २०८३ १७:३० मंगलबार
-600x400.jpg)


