समाज

सीमाक्षेत्र अतिक्रमणले बढ्दै मानव–हात्ती द्वन्द्व

रातिको करिब ९ बजेको थियो। इटहरी उपमहानगरपालिका–२ का रविन खड्का सुतिसकेका थिए। गाउँलेहरू ठुलो आवाजमा ‘हात्ती आयो, हात्ती आयो’ भन्दै कराउन थाले। रविन ब्युँझिएर हत्तपत्त घरबाट निस्के। परिवारका सदस्यले उनलाई बाहिर नजान सम्झाउँदै थिए। हात्ती धपाउन जानु जोखिमपूर्ण हुन सक्ने भन्दै परिवारका सदस्यले उनलाई रोक्न खोजेका थिए। तर २६ वर्षीय उनले साथीभाइसँगै हात्ती धपाउन जाने निर्णय गरे। साथीहरूसँगै उनी घरनजिकै रहेको तालतलैया क्षेत्रतर्फ लागे। त्यो यात्रा उनको जीवनको अन्तिम बन्न पुग्यो।

तालतलैया क्षेत्रमा एउटा–दुइटा होइन, २०–२५ वटा जंगली हात्ती थिए। बस्ती नजिक हात्ती आएपछि स्थानीय युवा धपाउन जुटे। हात्तीलाई जंगलतर्फ नै फर्काउने प्रयास भयो।

युवाको समूहले हात्तीलाई केही पर धपायो। खतरा केही कम भएको जस्तो देखियो। तर केही पर पुगेको एउटा हात्ती फर्किएर आयो। रविनले सायद यस्तो होला भनेर कल्पना गरेका थिएनन्। त्यो हात्तीले उनलाई आक्रमण गर्‍यो। उनको घटनास्थलमै मृत्यु भयो। हात्ती धपाउन जंगल पसेका उनी घर फर्किन पाएनन्।

२०८० मंसिर १३ गतेको भएको उक्त घटना केवल एक युवकको मृत्युको कथा होइन। यो बस्ती र जंगलको सीमाना साँघुरिँदै जाँदा मानिस र वन्यजन्तुबिच बढ्दै गएको द्वन्द्वको दर्दनाक घटना हो। मानिसले आफ्नो घर र खेती जोगाउन खोज्छ। बाटो बिराएको हात्ती आफ्नो बासस्थान र बाटोमा फर्किन खोज्छ। तर यी दुईको बाटो जुध्दा मानिसको ज्यान जान्छ।

रविन वैदेशिक रोजगारीका लागि विदेश आउजाउ गर्थे। हात्तीले ज्यान लिँदा उनले विवाह गरेको एक वर्ष भएको थियो। उनको मृत्युको ४५ दिनपछि छोरा जन्मिए। अहिले छोराले बेलाबेलामा ‘अरूकाचाहिँ बाबा छन्, हाम्राचाहिँ हुनुहुन्न’ भनेर सोध्दा मन भक्कानिएर आउने आमा रेनुकाले सुनाइन्।

रेनुका र रविनबिच प्रेम विवाह भएको थियो। रेनुका राईकी छोरी हुन् भने रविन क्षेत्री। विवाह भएको एक वर्ष पुग्दानपुग्दै पति गुमाउनुपर्दा थुप्रै दिनसम्म रेनुका बेहोस् भएकी थिइन्। ‘उहाँ (रविन) को घटनापछि के भयो मलाई केही थाहा छैन। त्यो बेला शारीरिक रूपमा मलाई गाह्रो पनि थियो,’ रेनुकाले भनिन्। उनका अनुसार संघीय सरकारले पीडित परिवारलाई दस लाख रूपैयाँ क्षतिपूर्ति दिएको थियो। इटहरी उपमहानगरपालिकाले पनि एक लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो।

हात्तीको बासस्थान र मानव बस्तीबिचको दुरी घट्दै जाँदा दुवै पक्षबिच द्वन्द्व हुने गरेको छ। २०७१ सालमा सप्तरीको सप्तकोसी नगरपालिका–१० की १२ वर्षीया संगीताकुमारी यादवको जंगली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भयो। सोही वर्ष सुनसरीको तत्कालीन भरौल गाविस–३ का १२ वर्षीय सुमन लिम्बू पनि हात्तीको आक्रमणमा परे। घाँस–दाउरा लिन जंगल गएका बेला हात्तीले आक्रमण गर्दा उनको मृत्यु भयो। उनीसँगै जंगल गएका अन्य पाँचजना घाइते भए। २०७१ सालमै सुनसरी मधुवनकी ढसिना खातुनको पनि जंगली हात्तीको आक्रमणबाट ज्यान गयो। सुनसरीकै हरिपुर–३ की ५५ वर्षीया भोलियादेवी मुखियाले पनि हात्तीको आक्रमणबाट ज्यान गुमाइन्।

त्यस्तै २०७५ साल असारमा सुनसरीको बराहक्षेत्र नगरपालिका–९ की ५० वर्षीया भूमियादेवी चौधरी जंगली हात्तीको आक्रमणमा परिन्। भैंसीगोठमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भयो। त्यसको केही महिनापछि पुसमा उदयपुरको बेलका नगरपालिका–३ का ५० वर्षीय बुद्धिमान मगर पनि हात्तीको आक्रमणमा परे। गाईवस्तु चराएर घर फर्कने क्रममा हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका मगरको उपचारका क्रमा मृत्यु भयो।

यी घटनाले पूर्वी नेपालान वन क्षेत्रआसपासका बस्तीमा मानव–हात्ती द्वन्द्व कति गम्भीर समस्या बनेको छ भन्ने देखाउँछ। मानिस हात्तीको जोखिममा छन्। हात्ती संरक्षणसँगै स्थानीय बासिन्दाको सुरक्षालाई पनि प्राथमिकतामा राखेर दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता यी घटनाले औंल्याएका छन्। हात्तीको बासस्थान र आवागमन क्षेत्रको संरक्षण, जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणाली तथा स्थानीयस्तरमा प्रभावकारी सावधानीका उपाय अपनाउन सके मात्रै जनधनको क्षति न्यूनीकरण गर्न सकिने देखिन्छ। उदयपुरदेखि झापासम्मको चारकोसे जंगलका हात्तीले धान बाली थन्काउने समयमा बस्तीमा पसेर दुःख दिने गरेका छन्।

द्वन्द्वका कारण मानिस मात्र होइन, हात्तीको पनि ज्यान जाने गरेको छ। २०७५ पुसमा कोसी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रमा एउटा जंगली हात्ती मरेको अवस्थामा भेटियो। अन्दाजी २५ वर्षको मोटो दाह्रा भएको हात्ती कोसीको पूर्वी भंगालो नजिकै मरेको थियो। २०७७ मंसिरमा बिजुलीको तारले जेलिएर सप्तरी कञ्चनरुप नगरपालिका–५ मा एउटा जंगली हात्ती मरेको थियो। जंगली हात्तीको समूहले मानव बस्तीमा पसेर बिजुलीको पोल ढालेको थियो। त्यही पोलबाट प्रवाह भएको विद्युत्को तारमा त्यो हात्ती जेलिएको थियो।

सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको कोसी टप्पु वन्य जन्तु आरक्षमा हात्तीलाई गाउँ प्रवेश गर्नबाट रोक्न सुनसरीको बस्तीतर्फ विद्युतीय घेराबेरा गरिए पनि सप्तरी र उदयपुरतर्फको क्षेत्रमा गरिएको छैन। जसले गर्दा सप्तरी र उदयपुरतर्फ जंगली हात्ती अहिले पनि विद्युतीय धरापमा परेर मर्ने गरेका छन्।

झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरीलगायतका जिल्लामा बर्सेनि हात्तीको आक्रमणबाट मानिसको ज्यान जाने र मानिसले विभिन्न उपाय लगाएर हात्तीको ज्यान लिने शृंखला चलिरहेको छ। हात्ती मानव सभ्यताको प्रतीक हो। मानिसले जंगल अतिक्रमण गर्न थालेपछि जंगली जनावरको बासस्थान संकटमा पर्न थालेको छ। एकातिर हात्ती मरिरहेका छन् भने अर्कातिर हात्तीले मानिसको ज्यान लिने, घरगोठ भत्काउने र अन्नबालीमा नोक्सानी पुर्‍याउने गरेका छन्। हात्तीको बासस्थान क्षेत्र घटिरहेको छ। मान्छेको संख्या बढ्दा जंगल अतिक्रमण भरहेको छ। वन फडानीसँगै हात्ती विचरण गर्ने क्षेत्र घटिरहेको छ। हात्ती हिँड्ने कोरिडोरमै मान्छेले घर बनाएर बस्न थालेका छन्। जसले गर्दा मानिस र वन्य जन्तुबिच द्वन्द्व बढ्न गई दुवै असुरक्षित हुने क्रम बढेको छ।

हात्ती दुई प्रजातिका हुन्छन्। एउटा अफ्रिकन र अर्को एसियन। अफ्रिकन हात्ती भाले–पोथीकै दाह्रा हुन्छन्। एसियन हात्तीमा भालेको मात्र दाह्रा हुन्छन्। दाह्रा नहुने भाले हात्तीलाई मकुना भनिन्छ। मकुना हात्तीले अरुभन्दा बढी विध्वंस मच्चाउँछन्। हात्तीको आक्रमणबाट मानिसले अकालमा ज्यान गुमाउने र अन्नबालीमा नोक्सानी हुने क्रम बढ्दो छ।

कोसी प्रदेशमा मानव–हात्ती द्वन्द्व बढ्दो छ। विशेषगरी झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुरमा हात्तीको आक्रमणबाट मानिसको ज्यान जाने र विद्युतीय धराप, गोली प्रहारलगायतबाट हात्तीको ज्यान लिने क्रम रोकिएको छैन।

कोसी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपराज यादवकाअनुसार कोसी प्रदेशका विभिन्न क्षेत्रमा आर्थिक वर्ष २०६२/६३ देखि अहिलेसम्म ४५ वटा हात्तीको मृत्यु मृत्यु भएको छ। यो जानकारी उनले केही साताअघि सुनसरी र मोरङका पत्रकारलाई दिएका थिए। तथ्यांकअनुसार झापामा २०६२ सालयता २५ वटा हात्तीको मृत्यु भएको छ। कोसी टप्पु तथा आसपास क्षेत्रमा २०७० सालदेखि २०७८ सालसम्म ६ वटा हात्तीको मृत्यु भएको छ। २०६८ सालदेखि अहिलेसम्म मोरङमा आठ, २०७९ सालयता उदयपुरमा दुई, २०७७ सालयता सप्तरीमा दुई र २०७९ सालयता सुनसरीमा दुई वटा हात्तीको मृत्यु भएको छ। तीमध्ये अधिकांश हात्तीको विद्युतीय करेन्ट र गोली प्रहारबाट ज्यान गएको जानकारी यादवले दिए।

आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्मको तथ्यांक हेर्दा मानव–हात्ती द्वन्द्व घट्नुको साटो झन् जटिल बन्दै गएको देखिन्छ। कोसी प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार यो अवधिमा कोसीमा हात्ती आक्रमणबाट ३१ जनाको मृत्यु भएको छ। २०८०/८१ मा १०, २०८१/८२ मा १३ र २०८२/८३ मा आठ जनाको हात्तीको आक्रमणबाट मुत्यु भएको छ। सोही अवधिमा १५ वटा हात्तीको ज्यान गएको छ। निर्देशनालयका सूचना अधिकारी योगिन श्रेष्ठका अनुसार हात्तीको आक्रमणबाट कोसी प्रदेशमा आर्थिक वर्ष २०७५/७६ भन्दा अघि ४९ जना र त्यसपछि ५८ जनाको मृत्यु भएको छ।

हात्तीले मानवीय मात्रै नभई बालीनाली, घरगोठ तथा भौतिक सम्पत्तीमा पनि ठुलो क्षति पुर्‍याएका छन्। निर्देशनालयका अनुसार हात्तीले पुर्‍याएको क्षतिको सोधभर्ना सरकारले दिने गरेको छ। सरकारले दिने क्षतिपूर्ति पनि पछिल्ला वर्षहरूमा बढ्दो छ। आर्थिक वर्ष २०८०/८१ मा ८ लाख २९ हजार ९२८ रुपैयाँ र २०८१/८२ मा २ करोड २७ लाख १५ हजार ९९९ रुपैयाँ क्षतिपूर्ति दिइएको छ। आर्थिक वर्ष २०८२/८३ मा दुई करोड ६८ लाख ५१ हजार ५ सय ४२ रुपैयाँ राहत तथा क्षतिपूर्ति दिइएको छ।  

कोसी प्रदेशमा जंगली हात्तीपीडितलाई हालसम्म १३ करोड २८ लाख १७ हजार रुपैयाँ राहत वितरण गरिएको छ। हात्ती हिँड्ने परम्परागत क्षेत्रमा मानव बस्ती घना हुँदै गएका कारण मानवीय गतिविधि बढ्दै जाँदा हात्तीले क्षति पुर्‍याउने गरेको छ। जंगलमा हात्तीको खानेकुरा घट्दै जानु र बस्ती क्षेत्रमा खानेकुरा पर्याप्त हुनुले पनि हात्ती बस्तीमा पस्न थालेका हुन्। विशेषगरी झापामा हात्तीले धेरै क्षति पुर्‍याउने गरेको छ। झापाबाहेक मोरङ, सुनसरी, उदयपुर र इलामको तल्लो भागमा हात्तीले क्षति पुर्‍याउँदै आएको छ।

नियमनकारी निकायले हात्ती आतंक कम गर्ने विषयमा छलफल र विभिन्न घोषणा गरेको भए पनि ती केवल छलफलमै सीमित छन्।

झापा, मोरङ र सुनसरीमा जंगली हात्तीबाट अन्नबाली, घरगोठ र मानवीय क्षतिका घटना दोहोरिँदै आएका छन्। इलामदेखि उदयपुरसम्मका तराई–चुरे क्षेत्रसमेत पछिल्लो समय हात्तीको नयाँ गन्तव्य बन्दै गएपछि मानव–वन्यजन्तु द्वन्द्वको दायरा फराकिलो भएको छ।

मानव–वन्यजन्तु द्वन्द्व कम गर्ने सरकारको प्रमुख तत्कालीन उपाय राहत र क्षतिपूर्ति हो। अहिले ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८०’ लागु छ। हात्ती आक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ, घाइतेलाई अवस्था हेरेर राहत, घरगोठ, अन्नबाली र भण्डारण गरिएको अन्नको क्षतिका लागि तोकिएको सीमाभित्र राहत उपलब्ध गराउने व्यवस्था छ।

कोसी प्रदेश सरकारले पछिल्ला वर्षमा ‘हात्ती नियन्त्रण’ भन्दा ‘मानव–हात्ती सहअस्तित्व’ लाई नीतिगत प्राथमिकतामा राख्न थालेको छ। आर्थिक वर्ष २०८१/८२ वर्षदेखि प्रदेश सरकारले झापा, मोरङ र सुनसरीलगायत जिल्लाको मानव–वन्यजन्तु द्वन्द्व सम्बोधन गर्न वन्यजन्तु संरक्षण, पर्यापर्यटन, राहत तथा क्षतिपूर्ति र बाली बिमासहित मानव–हात्ती सहअस्तित्व कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गर्न थालेको छ। प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द्व न्यूनस्करणको प्रयास थालेको भए पनि त्यस्ता कार्यक्रमबाट आशातीत प्रगति भने देखिएको छैन।

राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ अधिकृत अशोक सुवेदी जंगली जनावरमध्ये हात्ती र बाँदर बौद्धिक जन्तुमा पर्ने हुँदा तिनीहरूलाई नियन्त्रण गर्न मानिसले सही उपाय अपनाउनुपर्ने सुझाउँछन्। हात्तीले सबैभन्दा मन पराउने आहारामा केरा र उखु पर्छ। जहाँ हात्ती केरा र उखुबाट लोभिएर आउँछ, त्यहाँ उपयुक्त स्वाद नहुने औषधि प्रयोग गर्न सकिने सुवेदी बताउँछन्। त्यस्ता औषधिबारे सरकारलाई सिफारिस गरिएको पनि उनले बताए।

नेपालमा २९२ वटा जंगली हात्ती छन्। कोसी प्रदेशको चारकोसे जंगल क्षेत्र आसपास हिँड्डुल गर्ने हात्तीको संख्या ६५ रहेको हात्तीविज्ञ अशोक रामले बताए।

प्रकाशित: १० कार्तिक २०८३ ०९:४० मंगलबार