समाज

अब राति २ बजेसम्म होटल खोल्न पाइने

जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालिन होटल व्यवसायलाई मापदण्ड भित्र रहेर राति २ बजेसम्म सञ्चालन गर्नपाउने निर्णय गरेको छ । 

होटलको वर्गीकरण गरी मापदण्डभित्र रहेर राति २ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।  

गत कार्तिक १४ गते  प्रशासनले साविक १२ बजेसम्म खुलिरहेका होटल, रेष्टुरेन्ट, गजल रेष्टुरेन्ट, स्पालगायतलाई  १० बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था लागू गरेको थियो । स्थानीय प्रशासनको उक्त निर्णयको मोरङका होटल व्यवसायीले विरोध गरेका थिए ।  

उक्त  निर्णयसँगै जिल्ला प्रशासन कार्यालय मोरङले  रात्रिकालिन होटल व्यवसायका लागि एक महिनाभित्रमा मापदण्ड तयार गर्न सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले कार्यविधी तयार पारेपछि त्यसमा केहि परिमार्जन गर्दै शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले नयाँ मापदण्ड स्वीकृत गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।  

प्रकाशित: २७ कार्तिक २०८३ १९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App