राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आज र भोलि (आइतबार) कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, देशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानसँगै कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश क्षेत्र तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा भारीदेखि अतिभारी वर्षा हुने अनुमान गरिएको छ।
प्राधिकरणका अनुसार अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम उल्लेखनीय रूपमा बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ। यसै सन्दर्भमा अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न र जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
विशेष सतर्कता अपनाउनुपर्ने जिल्लामा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्। यी जिल्लामा विशेषगरी रातिको समयमा सवारी सञ्चालन गर्दा उच्च सावधानी अपनाउन भनिएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएकी छन्। साथै जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न र पूर्वसूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
प्राधिकरणले नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र खोला किनारका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन अनुरोध गरेको छ। विपद्सम्बन्धी सूचना तथा आपत्कालीन सहयोगका लागि सम्बन्धित निकायका हटलाइन सेवाको उपयोग गर्न र जल तथा मौसम विज्ञान विभाग तथा प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न पनि सबैलाई अनुरोध गरिएको छ।
प्रकाशित: २ श्रावण २०८३ १६:३७ शनिबार

-600x400.jpg)

