रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारसमक्ष सिफारिस गरेको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समिति बैठकले उक्त निर्णय गरेको हो। बैठकअनुसार बेपत्ता हुनेमा ४८ जिल्लाबाट विवरण प्रमाणित भएका ३ हजार २९२ नेपाली नागरिक र १९ वटा विदेशी नियोगबाट प्राप्त विवरणका आधारमा पहिचान भएका ६२३ विदेशी नागरिक रहेका छन्।
विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) ले विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था गरेको छ।
यसअघि नेपाली नागरिकको हकमा सम्बन्धित स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा तथा विदेशी नागरिकको हकमा सम्बन्धित देशका नेपालस्थित नियोगबाट प्राप्त विवरणका आधारमा दाबी पेस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई चरणमा सातदिने सूचना जारी गरेको थियो।
बैठकले विपद् व्यवस्थापनसँग सम्बन्धित अन्य महत्वपूर्ण निर्णयसमेत गरेको छ। सन् २०३० अर्थात् वि.सं. २०८७ सम्म सबै समुदायमा विपद् पूर्वसूचना पुर्याउने लक्ष्यसहित तयार पारिएको ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३–२०८७ लाई स्वीकृति दिइएको छ। यस योजनाअन्तर्गत बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालनमा जोड दिइनेछ।
त्यस्तै, वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ र यसको कार्ययोजना २०८३/८४ देखि २०९१/९२ सम्मका लागि स्वीकृत गरिएको छ। वायु प्रदूषणबाट उत्पन्न हुने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राष्ट्रिय कार्ययोजना २०८३–२०८७ पनि बैठकले पारित गरेको छ।
यसैबीच, सम्भावित विपद् जोखिममा रहेका विभिन्न बस्तीका परिवारलाई सुरक्षित स्थानमा सार्ने निर्णयसमेत भएको छ। डडेल्धुराको आलिताल गाउँपालिका–१ स्थित भोका र माला गाउँका २४ घरधुरी तथा वडा नम्बर २ को बलौचा गाउँका २२ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिइएको छ।
त्यसैगरी, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई फुदवाङ र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवल गाउँका ३२ घरधुरीलाई फिलिम गाउँमा स्थानान्तरण गर्ने निर्णय पनि गरिएको छ।
प्रकाशित: १० मंसिर २०८३ २१:०१ बिहीबार



