काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणको सत्यतथ्य पत्ता लगाउन सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा एक स्वतन्त्र छानबिन समिति गठन गर्ने भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गृह प्रशासन, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच भएको वार्तापछि योसहित ९ बुँदे सहमति जुटेको हो।
सहमति पत्रको पहिलो बुँदा अनुसार नेपाल सरकारले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ।
उक्त समितिले गठन भएको सात दिनभित्र आफ्नो प्रतिवेदन तयार पारी नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने समयसीमा तोकिएको छ। छानबिन समितिको यही प्रतिवेदन र सिफारिसका आधारमा घटनासँग जोडिएका थप प्रक्रियाहरू अघि बढाइने सहमति भएको हो।
छानबिन प्रक्रियालाई निष्पक्ष र स्वतन्त्र बनाउन घटनाको दिन फिल्डको अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीहरूलाई छानबिन आयोगको प्रतिवेदन नआउन्जेल तत्कालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई लेखी पठाउने सहमति भएको छ। यससँगै विगत तीन दिनदेखि शिक्षण अस्पतालमै रहेको नेपालीको शव बुझ्न र पोस्टमार्टम प्रक्रिया अघि बढाउन पीडित परिवार सहमत भएको छ।
प्रकाशित: २८ असार २०८३ १८:४८ आइतबार



