सप्तरीको एउटा सामान्य गाउँबाट सुरु भएको सपना अहिले अमेरिकी पेटेन्ट, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र हलिउडसँग जोडिएको छ। संघर्ष, अभाव र निरन्तर प्रयासबिच सप्तरीका रुचित रेग्मी अहिले पाइलटलेस एयरक्राफ्टका अमेरिकी पेटेन्ट प्राप्त आविष्कारकका रूपमा आफूलाई विश्व मञ्चमा स्थापित गर्ने यात्रामा छन्।
विश्वका ठुला बहुराष्ट्रिय कम्पनी जेनेरल मोटर्स (जीएम), टोयोटा, कमकास्ट, बोइङ र हनिवेलजस्ता नामहरूसँग आफ्नो आविष्कार, प्रविधि र सिर्जनात्मक परियोजनामार्फत जोडिएको बताउने नेपाली आविष्कारक रेग्मी अहिले पुनः चर्चामा आएका छन्।
अमेरिकी पेटेन्ट प्राप्त पाइलटलेस एयरक्राफ्टका आविष्कारक रहेका रेग्मीका अनुसार अन्य दुई आविष्कार ‘कम्प्युटर बेस्ड माइन्ड रिडिङ स्मार्ट इलेकट्रोनिक्स डिभाइस एन्ड फेस-कम्प्युटर’ तथा ‘वन पोर्टल सर्भिस एन्ड सोलुसन्स (सर्च इन्जिन टेक्नोलोजी)’ हाल नेपाल सरकारको उद्योग विभाग र चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासन (सीएनआइपीए) मा पेटेन्ट परीक्षण प्रक्रियामा रहेका छन्।
काठमाडौँ, डिल्लीबजारस्थित विजय मेमोरियल स्कुल हुँदै पुलचोक इन्जिनियरिङ कलेज तथा सिक्किम मनिपाल विश्वविद्यालयसम्मको शैक्षिक यात्रा तय गरेका रेग्मी आफूलाई सप्तरीको माटो र विराटनगरको गोग्राहा स्कुलको पहिचान बोकेको नेपालीका रूपमा चिनाउन चाहन्छन्।
उनले फेस-कम्प्युटर अन्तर्गत स्मार्ट न्युरल नेकलेस, स्मार्ट न्युरल रिस्टब्यान्ड, स्मार्ट न्युरल रिङ तथा स्मार्ट न्युरल इयररिङ्स जस्ता वेयरेबल प्रविधिहरू विकास गर्ने योजना रहेको बताएका छन्। ‘वन पोर्टल सर्भिस एन्ड सोलुसन्स’ मार्फत सर्च इन्जिन, सपिङ र डिजिटल कारोबार एउटै प्लेटफर्ममा सम्भव हुने उनले बताए।
रोबोटिक्स क्षेत्रमा पनि आफ्नो अर्को आविष्कार रहेको र त्यसको समीक्षा जेनेरल मोटर्स (जीएम) तथा टोयोटाले गरेको रेग्मीले बताएका छन्। उनका अनुसार ती कम्पनीहरूले उक्त प्रविधिले ‘इन्डस्ट्री ४.० रिभोलुसन’ मा प्रभावशाली भूमिका खेल्ने निष्कर्ष निकालेका छन्।
जीएम सप्लाएर एक्सेलेरेसन प्लेटफर्मले कम्पनीको आर्थिक अवस्था सुधार भएपछि सहकार्य अगाडि बढाउने प्रतिक्रिया दिएको तथा टोयोटाले पनि आफ्ना प्रस्तावहरूलाई ‘हाइ रिगार्ड’मा राखेको उनको भनाइ छ।
त्यसै गरी उनले लेखेको डब्लूजीए-वेस्टमा दर्ता भएको ‘डब्लू.ए.आर.’ नामक चलचित्र कथावस्तु कमकास्ट (एनबिसी युनिभर्सलको प्यारेन्ट कम्पनी) द्वारा साढे तीन वर्षको समीक्षापछि एप्रुड भएको उनले बताएका छन्। ‘अबको चरण कमकास्ट द्वारा मेरो मुभी प्लट खरिद गर्ने प्रक्रिया हुनेछ,’ रेग्मीले भने।
उनले बोइङ, हनिवेल एयरोस्पेस, एक्सविङ, रिलाएबल रोबोटिक्स तथा मर्लिन जस्ता कम्पनीहरूले आफ्नो ‘पाइलटलेस एयरक्राफ्ट’ सम्बन्धी अमेरिकी पेटेन्ट प्रक्रियाको उल्लंघन गरेको आशंका व्यक्त गरेका छन्। ‘आवश्यक परे बोइङ र हनिवेल सहित पाँच कम्पनीविरुद्ध अमेरिकी अदालतमा पेटेन्ट इन्फ्रिन्जमेन्ट सम्बन्धी लिटिगेशन अगाडि बढाउनुपर्ने अवस्था आउन सक्छ,’ उनले भने।
रेग्मीले आफ्नो संघर्षपूर्ण यात्रामा परिवार र शुभेच्छुकहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। विशेषगरी आफ्ना ससुरा अच्युतकुमार अर्याललाई सम्झँदै उनले भने, ‘हरेस नखानुस्, ठुलो काम हो; हामी मूला किन्दा त कति ठाउँमा सोध्छौँ, विचार गर्छौँ भने यति ठुलो काम समय लाग्छ भनेर उहाँले आजीवन मलाई उत्प्रेरणा दिनुभयो।’
आफ्नी दिवंगत आमालाई सम्झँदै उनी भावुक बन्छन्, ‘आज आमा जीवित हुनुहुन्थ्यो भने कति खुसी हुनुहुन्थ्यो होला र त्यो खुसी टोल-छिमेकी र आफन्तसँग बाँड्नुहुन्थ्यो होला भन्ने अभाव मेरो जिन्दगीभर खड्किन्छ।’
उनले आफ्नी जीवनसाथीको संघर्षलाई आफ्नै संघर्षभन्दा ठुलो ठान्छन्। ‘मेरो अर्धाङ्गिनीको दुःख, कष्ट र संघर्षको कथा मेरोभन्दा महान् छ,’ उनले भने।
सरकार तथा निजी क्षेत्रप्रति पनि उनले असन्तुष्टि व्यक्त गर्दै भने, ‘सरकार, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्सले अनुसन्धान र नवप्रवर्तनलाई साथ दिन्छौँ भन्छन्, तर व्यवहारमा आविष्कारकलाई सहयोग गर्नु त परको कुरा, उल्टै हतोत्साहित गर्ने काम भइरहेको छ।’
आविष्कार र सम्भावित अन्तर्राष्ट्रिय सहकार्यहरूले आगामी दिनमा अझ ठुलो बहस र चासो सिर्जना गर्ने उनी बताउँछन्। सप्तरीको एउटा गाउँबाट सुरु भएको रेग्मीको यात्रा अहिले विश्व प्रविधि, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र हलिउडसम्म पुगेको छ।
प्रकाशित: १९ जेष्ठ २०८३ १३:०१ मंगलबार



