नेपालमा परम्परागत चिज उत्पादनको विकासमा पुऱ्याएको योगदानको कदरस्वरूप फ्रान्स सरकारले हिमालयन फ्रेन्च चिजका संस्थापक फ्रान्स्वाँ ड्रियारलाई प्रतिष्ठित अर्डर अफ एग्रिकल्चरल मेरिटबाट सम्मान गरेको छ।
नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाँ पुइग-इन्जाले मंगलबार आयोजित समारोहमा ड्रियारलाई फ्रान्स सरकारको उक्त सम्मान प्रदान गरेकी हुन्।
नेपाललाई नै आफ्नो घर बनाएका फ्रान्सेली चिज उत्पादक ड्रियारले परम्परागत फ्रान्सेली चिज बनाउने प्रविधिलाई नेपालका समृद्ध स्थानीय सामग्रीसँग मिश्रण गर्ने उद्देश्यले हिमालयन फ्रेन्च चिज स्थापना गरेका थिए।
‘यस सम्मानमार्फत फ्रान्सले फ्रान्स्वाँ ड्रियारको प्रतिबद्धता तथा नेपालको दुग्ध र चिज उत्पादन क्षेत्रमा उनले पुऱ्याएको योगदानको कदर गर्न चाहेको छ,’ राजदूत पुइग-इन्जाले भनिन्, ‘उनको यात्राले हाम्रा दुई देशबीचको आदानप्रदानको वास्तविक मूल्य झल्काउँछ। यो उपलब्धि सम्भव बनाउने नेपाल, यहाँका जनता र यहाँको कृषि वातावरणको भूमिकाको पनि म कदर गर्न चाहन्छु।’
सम्मान ग्रहणपछि ड्रियारले नेपालको भूगोल, परम्परा र जनता आफ्ना लागि निरन्तर प्रेरणाका स्रोत रहेको बताए।
‘यो सम्मान पाउँदा म अत्यन्तै गौरवान्वित भएको छु। नेपालले मलाई यस्तो देशमा आफ्नो सीप निर्माण गर्ने अवसर दियो, जसको भूगोल, परम्परा र जनता निरन्तर प्रेरणाका स्रोत हुन्,’ उनले भने, ‘यस सम्मानका लागि म फ्रान्स सरकारका साथै यस यात्रामा साथ दिने मेरा नेपाली सहकर्मी र साझेदारहरूलाई धन्यवाद दिन चाहन्छु। यो सम्मान उनीहरूको परिश्रम र सहयोगप्रतिको कदर पनि हो।’
ड्रियारले आफ्नो काममार्फत नेपालको दुग्ध सम्भावना उजागर गर्न, स्थानीय कालिगढहरूलाई तालिम दिन तथा फ्रान्सेली पाककला सम्पदा र नेपाली कृषिबीच व्यावहारिक सहकार्य प्रवर्द्धन गर्न मद्दत पुऱ्याएका छन्।
प्रकाशित: १ मंसिर २०८३ १७:१७ मंगलबार
-600x400.jpg)


