समाज

बेपत्ता चार जनाको कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता भएका एकै परिवारका चार जनाको बिहीबार पशुपति आर्यघाटमा कुशको शव बनाएर दाहसंस्कार गरिएको छ।

बाढीले त्रिशूली थ्री बीको आवास तथा कार्यालय भवन पुरिएपछि इन्जिनियर राजेश शर्मा, उनकी श्रीमती इन्जिनियर प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय जुम्ल्याहा छोराछोरी बेपत्ता भएका थिए। उनीहरूको अवस्था अहिलेसम्म पनि पत्ता लाग्न नसकेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो।

बाढीमा त्रिशूली थ्री बीका आवास तथा कार्यालय भवनमा इन्जिनियर, कन्सल्टेन्टसहित ४३ जना फसेको कम्पनीले जनाएको थियो। कम्पनीले भग्नावशेष खोज्दा नभेटेको खबर परिवारलाई गरेपछि दाहसंस्कारको काम अघि बढाइएको हो ।  

खोजीको काम अपेक्षित गतिमा अघि बढ्न नसकेको भन्दै परिवारले यसअघि प्रधानमन्त्रीसमक्ष उद्धारलाई तीव्रता दिन आग्रह गरेको थियो।

लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा परिवारले ‘सास वा लाश’ पर्खिरहेको थियो। तर खोजी प्रभावकारी रूपमा अघि बढ्न नसकेपछि अन्ततः कुशको शव बनाएर दाहसंस्कार गर्नुपरेको परिवारले जनाएको छ।

परम्पराअनुसार बेपत्ता व्यक्तिको प्रतीकात्मक शवका रूपमा कुशको शव बनाएर अन्तिम संस्कार गर्ने प्रचलन छ। परिवारले भने उनीहरूको वास्तविक अवस्था अझै स्पष्ट नभएकाले यो दाहसंस्कार बाध्यताबीच गरिएको जनाएको छ।

प्रकाशित: २५ भाद्र २०८३ २२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App